aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

झोलुङ्गे पुल तर्न २० रुपियाँ असुल्छ नगरपालिका

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ३१ असोज २०७९
झोलुङ्गे पुल तर्न २० रुपियाँ असुल्छ नगरपालिका

काठमाडौं । सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ । नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ । दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ ।

सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपियाँको लागतमा पुल निर्माण गरेको थियो । नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गरे ।

सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् । उनले पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको बताए । “केही समयमै भ्यु प्वाइन्ट, शौचालयलगायतका सुविधा बढाउँदै छौँ,” उनले थपे, “नगर कार्यपालिकाको बैठकबाटै पुल तरेबापत शुल्क लिने निर्णयपछि बोलपत्र आह्वान गरेर वार्षिक ३६ लाख रुपियाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ ।”

पुल निर्माण गरिएको वडा नं. ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ। सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ ।

नगरपालिकाले शुल्क उठाउन गरेको निर्णयप्रति स्थानीय बासिन्दा र अवलोकनकर्ता सन्तुष्ट छैनन् । काभ्रेपलाञ्चोकबाट पुल तरी अग्लो महादेवको दर्शन गर्न आउनुभएका अरबिन्द गौतमले स्थानीय तहले रकम असुल्ने माध्यम बनाएको गुनासो गरे । काठमाडौँबाट महादेव मन्दिरमा आएकी सीता पोखरेलले २० रुपियाँ तिर्नु ठूलो कुरा नभए पनि स्थानीय तहले राजस्व उठाउनकै लागि गलत काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस