काठमाडौँ । पोखरामा यही भदौ १५ गतेभित्र अनिवार्य रूपमा सम्पूर्ण पोखरा क्षेत्रमा सञ्चालन हुने यात्रुबाहक बसहरूमा ई-टिकेटिङ सिस्टम सञ्चालन गरिने भएको छ । पोखरा महानगरपालिकाको आह्वानमा सञ्चालन भएको उक्त सिस्टम यही भदौ १६ गतेसम्म यदि कुनै यात्रुबाहक बसमा उक्त प्रविधि जडान नभएको खण्डमा सवारी साधन अनुमतिपत्र खारेज हुने भएको महानगरले चेतावनी दिएको छ।
पोखरा क्षेत्रका सातवटा बस कम्पनी, महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू सहितको हालै सम्पन्न भएको एक बैठकमा भदौ १६ गतेपछि यदि कुनै बसहरूमा इटिकेटिङ सिस्टम लागू नभए सवारी साधन संचालनको अनुमतिपत्र खारेजीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको बैठकमा सहभागी मध्येका एक अमृत शर्मा तिमिल्सिनाले बताए ।
पोखरा बस कम्पनीका सञ्चालकसमेत रहेका तिमिल्सिनाले महानगरको स्मार्ट सिटी बनाउने अभियानमा उक्त सिस्टम लागू गरिएकाले यदि उक्त सिस्टम लागू नगर्ने उपरकम्पनी, सञ्चालक, चालक, सहचालक तथा नियतवश कार्ड प्रयोग नगर्ने यात्रुलाई समेत कारबाही हुने भएको उनले जनाए । उक्त सिस्टम लागू नगर्नेउपर कस्तो कारबाही गर्ने सम्बन्धमा महानगरले निर्णय गर्ने तयारी गरेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस