aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

धमाधम बन्दैछ संघीय संसद्को नयाँ भवन, बस्न पाउला नयाँ संसद्को पहिलो बैठक ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९

नेपालमा गणतन्त्र स्थापना भएपछिको पहिलो संसद्को कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते निर्वाचन हुने भएको हो ।   

आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै देशभर राजनीतिक चहलपहल शुरु भइसकेको छ । देशभर राजनीतिक माहोल तातिरहेका बेला काठमाडौंको सिंहदरबारमा संघीय संसद्को लागि नयाँ भवन निर्माण कार्यले पनि तीव्रता पाएको छ । आगामी निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिसभाका सदस्यहरूले उक्त नयाँ भवनको पहिलो बैठक बस्न पाउला या नपाउला भन्ने धेरैको चासोको विषय पनि रहेको छ । 

उक्त भवन निर्माण सम्पन्न गर्नु पर्ने समय ६ महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माणकर्ता कम्पनीले बताएको छ । केही हप्ताअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद् भवन निर्माणको अनुगमन समेत गरेका थिए । त्यस क्रममा निर्माण कम्पनीले हालको भौतिक प्रगति ६० प्रतिशत भएको जानकारी गराएको थियो । 

अझै ४० प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको छ । उक्त ४० प्रतिशत काम ६ महिनाको अवधिमा सम्पन्न गर्न नसकिने देखिन्छ । यसरी हेर्दा आगामी निर्वाचनमा चुनिएर आएका प्रतिनिधिहरूको पहिलो बैठक सिंहदरबारको संघीय संसद्को नयाँ भवनमा नहुने देखिन्छ । 

विं. सं. २०७६ साल असोज १६ गतेदेखि संघीय संसद्को भवन बनाउन शुरु गरिएको थियो । जसका लागि ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । भवन निर्माणका लागि  सम्झौताअनुसार वि.सं. २०७९ साल असोज १५ गते संसद् भवन तयार पारिसक्ने उल्लेख थियो । तर, कोरोना महामारीका कारण उक्त भवन निर्माणको समय ६ महिना थप गरिएको छ । अब उक्त भवन निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।  

संघीय संसद्को आफ्नै बैठक स्थल नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर त्यसमै बैठक सञ्चालन हुँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् बैठक हुँदै आएको छ ।   

 

प्रतिक्रिया दिनुहोस