
काठमाडौं । आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म ‘१५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९’ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’को नारासहित उक्त प्रदर्शनी आयोजना गर्न लागेको हो ।
मेला प्रदर्शनीका संयोजक तथा एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले नेपालीहरूको महान् चाड तिहार नजिकिँदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन प्रदर्शनीको आयोजना गर्न लागिएको बताए । यसका साथै गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्ने समेत मेलाको उद्देश्य रहेको जानकारी दिए ।
उनका अनुसार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलको खेल मैदानमा सञ्चालन गरिनेछ । समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ ।
पुष्प व्यवसायको व्यवसायीक प्रवर्द्धनका लागि लगातार रूपमा गरिँदै आएको मेला प्रदर्शनी कार्यक्रमहरू कोभिड–१९ का कारण विगत साढे दुई वर्षसम्म सुस्ताएको थियो । केही सहज परिस्थिति भएका कारण गत वर्षदेखि पुनः मेला प्रदर्शनी कार्यक्रम सुरु गरिएको छ । यसै क्रममा यस वर्ष पनि पुष्प विकास केन्द्रको सहयोग तथा फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गर्न लागिएको एशोसिएसनले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पन्तले भने, ‘यस प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू रहनेछन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।’
यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ गोदावरीको कट फ्लावर रहेका छन् । यसका साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइनेछ । उत्कृष्ट हुने नर्सरी/फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यस मेलामा नेपालमा विगत वर्षदेखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूलका बिरुवाहरूको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूलका बिरुवाहरूको समेत प्रदर्शनी तथा बिक्री वितरण हुने मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष पन्तले बताए । यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनीमा समावेश हुने उनले जानकारी दिए ।
पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलबाटै प्रदान गरिनेछ । यस वर्षको गोदावरी फूलको प्रदर्शनीमा ३७ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । यसका साथै ८० लाख रुपैयाँसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको पन्तले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले नेपालमा फूलको बजार अभाव रहेको गुनासो गरे । उनले भने, ‘नेपालको हावापानी हेर्ने हो भने सबै किसिमको फूल उत्पादन गर्न सकिन्छ । तर, सबै सिजनमा फूल उत्पादन भए पनि बजार अभाव रहेको छ । यसले गर्दा फूलको माग बढी हुने सिजनलाई लक्षित गरेर व्यवसायीहरूले उत्पादन गर्दै आएका छन् ।’
त्यस्तै, उनले कोरोना महामारीका बेला फूलको उत्पादन घटे पनि यस वर्षदेखि पुनः पुरानै लयमा फर्किएको बताए । अध्यक्ष तामाङले भने, ‘फूलको उत्पादन हरेक वर्ष बढाउँदै लगेका छौँ । कोरोना महामारीको बेलामा फूलको उत्पादन केही घटेको थियो । तथापि यस वर्षदेखि यस क्षेत्रमा थप लगानी भइसकेको छ । यसले गर्दा यस वर्षदेखि फूलको उत्पादन बढेका कारण हामी पुरानै लयमा फर्किदैछौं ।’
प्रतिक्रिया दिनुहोस