aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, ०१ कार्तिक २०७९
निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ । गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ, प्रवक्ता पोखरेलले भने, योजनाअनुसार एक महिनाअगावै सुरक्षाकर्मी परिचालन भइसक्छन् ।

यहीअनुसार आफूमातहत सुरक्षाकर्मी आवश्यकताअनुसार परिचालन गर्ने काम सुरु भइसकेको सुरक्षा निकायहरूले जनाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा ३५ हजार बढाएर सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । त्यतिबेला २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अहिले ३ लाख सुरक्षाकर्मी परिचालन गर्न लागिएको गृहका प्रवक्ता पोखरेलले जानकारी दिए । यसका लागि नेपाली सेनाबाट ७१ हजार, नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरीबाट ३५ हजार, म्यादी प्रहरी १ लाख १५ हजार र बाँकी राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ ।

सुरक्षाकर्मीको काम, परिचालनको तौरतरिका र निर्वाह गर्नुपर्ने भूमिका अघिल्ला निर्वाचनजस्तै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस