aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, ०३ कार्तिक २०७९
भारतको कलकत्ताबाट धरानमा भित्रियो लाखौंको माला

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै छिमेकी मुलुक भारतबाट लाखौंको सयपत्री माला धरान भित्रिएको छ ।

यसपाली पूर्वी नेपालमा सयपत्री फूलको उत्पादनमा कमी आउने भएसँगै व्यापारीहरुले तिहार अघि नै लाखौंको माला भित्र्याएका हुन् । भारतको कलकत्ताबाट आयात गरिएका तयारी माला धरान १३ स्थित कृषि उपज थोक बजारस्थलको शितभण्डारमा भण्डारण गरेर राखेका छन् ।

कृषि बजारका अनुसार मंगलबारसम्मको रेकर्डंमा तिहारलाई लक्षित १ लाख २५ हजार वटा माला धरान भित्रिसकेको छ । ‘अझै ६० हजार वटा माला आउने प्रक्रियामा छ भनेर व्यापारीहरुबाट जानकारी आएको छ,’ उनले भने, ‘१ गतेसम्म १ लाख २५ हजार वटा माला आइसकेको छ ।’

कृषि बजारमा शित भण्डार निर्माण भएपछि व्यापारीहरुले तिहार आउनु झण्डै एक साताअघिदेखि नै गत बर्षदेखि तयारी फूल भारतबाट भित्र्याएर भण्डार गर्ने गरेका छन् । तिहारमा घर, पसल सजाउने र पूजामा पनि सयपत्री फूल प्रयोग हुने भएकोले माग बढी हुने गर्छ । स्थानीय उत्पादनले थेग्न नसक्ने भएकोले भारतबाट फूल आयात हुने गरेको छ ।

व्यापारीहरुका अनुसार यसपाली नेपालमा तिहार भन्दा पछि मात्र सयपत्री फूल फुल्ने भएको कारण स्थानीय उत्पादन बजारमा अभाव हुने देखिन्छ। साथै, भारतबाट पनि आयात कम भइरहेको कारण तिहारमा फूल अभाव भएर महंगिने सम्भावना भएको पनि व्यापारीहरु बताउँछन्।

कलकत्ताबाट फूल आयात गरेर भण्डारण गरिरहेका व्यापारी टिकाराम श्रेष्ठले आफू धनकुटा, तेह्रथुम, सुनसरी र मोरङको पहाडी ग्रामिण क्षेत्रमा जादा सयपत्री फूल कोपिला मात्र भेटिएको बताए । ‘म फूल खोज्न सबैतिर पुगे, कही पनि फूल छैन । सयपत्री रोपेका छन्, तर भर्खर कोपिला मात्र छ,’ श्रेष्ठले भने, ‘तिहारको बेला फुल्दैँन, त्यसैले यसपाली स्थानीय उत्पादन भनेजति बजारमा आउँदैन ।’

नेपाली कृषकहरुले पात्रो अनुसार अर्थात तिहारमा फूल्ने गरी फूल खेती नगर्ने कारण यस्तो समस्या भएको व्यापारी श्रेष्ठ बताउँछन् । स्थानीय उत्पादन नभएपछि भारतबाट आयात गर्नुपर्ने तर यसपाली भारतबाट पनि कम फूलको माला आइरहेको उनले बताए । ‘भारतबाट पनि कम माला आइरहेको छ, यसले महंगो हुन्छ जस्तो देखिन्छ,’ उनले भने । 

कृषि बजारका अनुसार विगतका वर्षहरुमा माग अनुसार २५ प्रतिशत मात्र माला भारतबाट आयात हुने गरेको थियो । तर, यसपाली स्थानीय उत्पादन कम हुने भएकोले ७५ प्रतिशत तयारी माला भारतबाट आउने बजारका व्यवस्थापक लक्ष्मण भट्टराईको अनुमान छ । ‘यसपाली तिहार छिटो आइदियो, स्थानीय उत्पादन ढिला हुने देखियो । यसले गर्दा पहिला २५ प्रतिशत मात्र भारतीय फूल आउथ्यो भने यसपाली ७५ प्रतिशत आउने भयो,’ व्यवस्थापक भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस