aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आज नवौं राष्ट्रिय खेलकुदको समापन हुँदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, ०३ कार्तिक २०७९
आज नवौं राष्ट्रिय खेलकुदको समापन हुँदै

काठमाडौं । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भोलि कात्तिक ३ गते बिहीबार समापन गरिने कार्यक्रम छ । 

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ ३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए । 

उनका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ । 

प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ ।

नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको भोलि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस