aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रिय खेलकुद प्रतियोगिता, नवौँ सम्पन्न, दसौँ कर्णालीमा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०४ कार्तिक २०७९
राष्ट्रिय खेलकुद प्रतियोगिता, नवौँ सम्पन्न, दसौँ कर्णालीमा

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ । २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो । 

दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ । पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गरे ।

प्रधानमन्त्री देउवाले पदक तालिकामा सबभन्दा अग्रस्थानमा रहने आर्मी टिमलाई रनिङ ट्रफी पनि प्रदान गरे । राष्ट्रिय खेलकुद प्रतियोगितामा यस पटक रनिङ ट्रफीको नयाँ सुरुवात भएको हो । सुन र चाँदीजडित रनिङ सिल्ड तीन संस्करण लगातार जित्नेले आफ्नो बनाउन सक्ने प्रावधान राखिएको छ । यस पटक व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदक विजेतालाई १५ हजार रुपियाँ पनि पुरस्कार दिइएको थियो ।

नेपाली सेना १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित कुल ३७१ पदकका साथ टिम च्याम्पियन बन्न सफल भयो । एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक तथा नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्यसहित १९५ शीर्ष तीनमा रहन सफल भए । आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जित्न सफल भयो ।

प्रधानमन्त्री देउवाले ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित भएको नवौँ राष्ट्रिय खेलकुद सफल बनाउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरे । उनले नवौँ राष्ट्रिय खेलकुदमा खेल्ने क्रममा निधन हुने पाराग्लाइडर निसिम थापा र उनको परिवारप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा यस प्रकारको दुःखद घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई निर्देशन दिए । 

पाराग्लाइडिङ खेलाडी निसिमको स्मरण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । गत आइतबार पोखरा सराङकोटको आकाशमा क्रसकन्ट्री पाराग्लाइडिङ खेल्ने क्रममा २६ वर्षीय निसिमको दुर्घटनामा परी मृत्यु भएको हो । ४१ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय खेलकुदको इतिहासमा खेल समयमा खेलाडीको निधन भएको यो पहिलो घटना हो । 

प्रतिक्रिया दिनुहोस