
एजेन्सी । भारतको मुम्बईको विशेष पीएमएलए (प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट) अदालतले भगोड़ा हीरा व्यापारी नीरव मोदीको ९२४ करोड रुपैयाँको सम्पत्तिमाथि आफ्नो फैसला सुनाएको छ। अदालतले ईडीलाई नीरव मोदीको ५०० करोडको ३९ सम्पत्ति जफत गर्न अनुमति दिएको छ।
योसँगै पंजाब नेशनल बैंकलाई नीरव मोदी र उनको कम्पनीको ९ वटा सम्पत्तिको अधिकार दिइएको छ । यी ४२४ करोडको सम्पत्ति बैंकसँग धितो राखिएको थियो। यस्तो दाबी गर्दै बैंकले अदालतमा निवेदन दिएको थियो । यसमा न्यूयोर्कको सेन्ट्रल पार्कमा रहेको सम्पत्ति, बैंक खाता, गहना र घडीलगायत बहुमूल्य वस्तुहरू समावेश छन्।
नीरव मोदीलाई विशेष पीएमएलए अदालतले डिसेम्बर २०१९ मा फरार आर्थिक अपराधी अधिनियम, २०१८ अन्तर्गत फरार घोषित गरेको थियो। विगतमा नीरव मोदीले आफूलाई भारतीय प्रहरीलाई सुम्पिएमा आफू बाँच्न नसक्ने बताएका थिए । लण्डनको जेलमा थुनिएका नीरवले मनोचिकित्सकलाई भारत सुपुर्दगी गरेमा या त मारिने वा आत्महत्या गर्ने बताए । उनले अन्ततः जेलमै मर्नुपर्ने बताए ।
नीरव मोदी र मेहुल चोक्सीमाथि पञ्जाब नेशनल बैंक (पीएनबी) को १४,५०० करोड रुपैयाँ ठगी गरेको आरोप छ। फेब्रुअरीमा बेलायतको वेस्टमिन्स्टर अदालतले मोदीलाई भारत सुपुर्दगी गर्ने अनुमति दिएको थियो। उनले यस निर्णयविरुद्ध लण्डन उच्च अदालतमा अपिल गरेका थिए । भारत ल्याइएपछि उनलाई मुम्बईको आर्थर रोड जेलको ब्यारेक नम्बर १२ मा राखिनेछ ।
प्रतिक्रिया दिनुहोस