
काठमाडौं । कांग्रेसका पुरानादेखि नयाँ नेता कार्यकर्ताले पंक्तिकारलाई अग्रिम बधाई दिईरहेका थिए । लेखनाथ न्यौपाने, शुक्रराज शर्मा, आनन्द ढुंगाना, बलदेव बोहरा, राजेन्द्र बुर्लाकोटी, नवराज गुरुङ, अनार बस्नेत र ऊर्जामन्त्री पम्फा भुसालसमेतले पंक्तिकारलाई अग्रिम बधाई दिएको सम्झिरहेको छु ।
गत असोज २०, २१ र २२ गते घनघोर पानी पर्यो। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पूरै जनमग्न भयो । कर्णालीमा ३३ जनाको अकालमा ज्यान गयो । प्रधानमन्त्रीबाट आश्वासन पाएको कार्यकर्ताले यसपटक पनि टिकट पाउनबाट वञ्चित हुनुपर्यो । पीडाको पसिनाले बर्खामासको जुरेली चरी भिजेझैं भएँ । धराधाममा घनघोर पानी परेझैं आँखाबाट पनि रोक्न नसकिने गरी अनायासै आँसुका धारा बगे । भुइँ अध्यारो देखेँ। विकासबाट धेरै पिछडिएको दुर्गम बस्ती र त्यहाँ बसोबास गर्ने निमुखा दाजुभाइलाई सम्झेँ । साढे बाह्र बजे राति वितरण गरिएको प्रान्तको टिकट मेरो नाममा नपाउँदा म केही विचलित पनि भएँ । यो मेरो प्रान्तको टिकटको माग थियो । साथै यो मेरो चारऔँ पटकको टिकटको वञ्चित जिन्दगी हो । २०६४ सालमा समानुपातिक लिस्टमा पनि यस्तै अन्यायमा परेको थिएँ ।
जन्मभूमिको सेवा गर्नेसम्बन्धी अभिभाराबाट म वञ्चित भएँ । जिन्दगी सामान्य रूपमा बिताएकै छु । तर, गाउँका मानिसका लागि सेवा कसरी गर्न सकिएला । पाँच वर्षपछि अझ बुढो हुने छु । चाहना पूरा गर्न गाह्रो पर्ने छ। विकासका सम्भावना धेरै बोकेको ठाउँ हो मलाई जन्माउने भूमि । तर के गर्ने ? यसबारे कसैलाई दोष दिन्नँ। मेरो भाग्य यस्तै रहेछ । सेती नदीमाथि पक्की पुल निर्माण गरी बझाङका उत्तरी क्षेत्रका नागरिकका साथै धुली धलौनबासीलाई सुख दिँदै तिब्बतसम्म मोटर बाटो निर्माण गर्ने सपना अधुरै रह्यो ।
प्रतिक्रिया दिनुहोस