aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुधार्न नसकिएको बागमती, आज सफाइ भोलि उस्तै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०५ कार्तिक २०७९
सुधार्न नसकिएको बागमती, आज सफाइ भोलि उस्तै

काठमाडौं । बागमती नदी सफाइ कार्य ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने भनाइसँग मिल्दोजुल्दो छ  । एक महिनाअघि बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै फोहोर हुने गरेको छ ।
 
जनचेतना अभिवृद्धि नभएसम्म बागमतीको सफाइ सम्भव छैन भने निर्मल पानीमा नीलो आकाश हेर्ने उपत्यकावासीको सपना साकार हुन नसक्ने बागमती सरसफाइ अभियानको लामो अनुभवले देखाएको छ। मुख्य रूपले जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकेको बागमती सफाइ अभियान्ताको अनुभव छ । बागमती सरसफाइ अभियानको ४९३औँ हप्ता सम्पन्न भइसकेको छ। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाभियान सुरु भएको थियो ।

बागमती सफाइ अभियानका मुख्य योजनाकार तथा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले बागमतीलगायतका नदीनालामा फोहोर नफाल्न मानिसको आनीबानी र चेतनामा सुधार हुनुपर्ने बताउँदै सफाइ अभियन्ताको प्रयासले मात्र मानिसको आनीबानीमा सुधार नहुने र त्यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको बताए। उनका अनुसार अहिलेसम्म बागमतीबाट २० हजार मेट्रिक टन फोहोर निकालिएको छ ।

सफाइ अभियानले नदीमा फोहोर फाल्ने प्रवृत्तिलाई रोक्न नसकेको बताउँदै भने, “यसका लागि नियमन गर्ने मुख्य निकाय भनेको सम्बन्धित पालिका हुन् । पालिकाले दण्ड गर्नुपर्छ । दण्ड गरेर मात्र पुग्दैन, कुहिने नकुहिने फोहोर छुट्याउन सिकाउनुपर्छ ।  फोहोर नछुट्याउनेलाई कारबाही गर्नुपर्छ । पालिकाले पनि छुट्याइएको फोहोरलाई मिसाएर व्यवस्थापन गर्नुहुँदैन ।”

पूर्वसचिव तथा बागमती सफाइ अभियान्ता किशोर थापाले सफाइ अभियान सुरु भएदेखियता सफाइ गरिएको ठाउँमा पुनः सफाइ गर्न जाँदा फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोरा भेटिने गरिएको बताए । 

आमनागरिकमा चेतनाको विकास, घर, टोलछिमेकमा नै फोहोरको व्यवस्थापन तथा यससँग सम्बन्धित कानुनको निर्मम कार्यान्वयन नगरेसम्म बागमतीलगायतको सरसफाइ अभियानले मूर्त रूप लिन नसक्ने उनको भनाइ छ ।

बागमती सफाइ अभियन्ता चन्द्रबहादुर चन्दले सम्बन्धित पालिका र स्थानीय निकायले आवश्यक चासो र तदारुकता नदेखाएका कारणले बागमती सफाइ अभियानले सोचेजस्तो सफलता हासिल गर्न नसकेको बताए ।

ललितपुरको ज्वागलस्थित बन्दै गरेको ‘फोहोरको डम्पिङ साइट’ नजिकै रहेको सुकुम्बासी बस्तीका कारण थापाथली पुल क्षेत्रमा फोहोर पटक–पटक सफा गरिए पनि फोहोर कम हुन नसकेको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस