
काठमाडौं । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ । भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ । जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ ।
जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ । विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले कटौती आएको छ ।
२०७८ साउन, भदौ र असोजमा नयाँ कित्ताकाट ४ लाख ४१ हजार ७ सय ७० कायम गरिएको थियो भने २०७९ साउन, भदौ र असोजमा देशभर नयाँ कित्ताकाट ५६ हजार ३ सय ६० मात्र कायम गरिएको छ । यो भनेको २०७८ साउन, भदौ र असोजको तुलनामा २०७९ साउन, भदौ र असोजमा ३ लाख ८५ हजार ४ सय १० ले कमी हो ।
प्रतिक्रिया दिनुहोस