aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यसरी फेला पर्न सक्छ नक्कली नोट, कसरी चिन्ने ?

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, ०६ कार्तिक २०७९
यसरी फेला पर्न सक्छ नक्कली नोट, कसरी चिन्ने ?

काठमाडौं । असोजमा सिरहाको नरहा–४ बाट ३१ हजार नक्कली नोटसहित भारत सीतामरहीका मोरेला उल्लाह पक्राउ परे । किराना पसलमा चुरोट किन्ने बहानामा हजारको नेपाली नोट दिएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गत मंसिरमा ६५ हजार ३ सय ३५ नक्कली नोटसहित प्रहरीले बूढानीलकण्ठ ११ कपनबाट ५ जना पक्राउ गरेको थियो । समरोज थापा मगरको कोठाबाट नक्कली पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टरसहित गोमा श्रेष्ठ, चिरन्जीवी ज्योति, पुष्पा थापा, समरोज थापा, सुजन ज्योति पक्राउ परेका थिए ।

यसले अझै पनि बजारमा नक्कली नोटका कारोबार हुने गरेको देखाउँछ । तिहार नजिकिँदै छ। तपाईं किनमेल गर्ने सोचमा हुनुहुन्छ होला । प्रहरी परिसर काठमाडौंका प्रबक्ता दिनेसराज मैनाली भन्छन्, ‘किनमेलमा ध्यान दिनुहोस् है, नक्कली नोट भेटिन सक्छ ।’ अन्य चाडपर्वभन्दा तिहार र छठमा किनमेल बढी हुने भएकाले जाली नोट कारोबारी सक्रिय हुने उनले बताए । कारोबारमा डिजिटल माध्यमको प्रयोग गर्दा बढी सुरक्षित हुने उनले सुनाए ।

भीडभाड बढी हुने स्थान, कारोबार धेरै हुने पसल तथा चोक बजारमा यस्ता कारोबारी सक्रिय हुने गर्छन् । उनीहरूसँग भएको नक्कली नोट सर्वसाधारणको हातमा पुराई सक्क्ली नोट ठगी गर्ने नियतले कारोबारीले भीडभाड हुने स्थानलाई टार्गेट गरेका हुन्छन् । प्रवक्ता मैनालीका अनुसार कारोबारीले कहिले नक्कली नोट मात्रै बजार पठाउँछन् । कहिले आफैं बजार पसेका हुन्छन् । रकम लेनदेन गर्दा सर्तकता अपनाउनुपर्ने मैनालीले जानकारी दिए । ठूलाठूला पसल र मलभन्दा पनि सर्वसाधारणको भीडभाड हुने स्थानलाई मुख्य टार्गेट गर्छन् । भाँडाकुडा, लत्ताकपडा, फलफूल तथा गरगहनाको बिक्रीवितरण चाडपर्वमा धेरै हुनेगर्छ। यस्तो बेला होसियार हुन जरुरी छ ।

नक्कली र सक्कली नोट छुट्याउन नसक्ने व्यक्ति झुक्किने सम्भावना हुन्छ । ‘यस्ता गिरोहबाट बच्नका लागी नागरिक सर्तक नै हुनुपर्छ,’ प्रबक्ता मैनाली भन्छन् । क्युआर स्क्यान गर्न सकिन्छ । फोन पे, इसेवा, अनलाइन बैंकिङ लगायतका माध्यम प्रयोग गर्न उपयुक्त हुन्छ ।’

नक्कली नोट कसरी छुट्याउने ?
सामान्यतयाः नक्कली र सक्कली नोट छामेरै छुट्याउन सकिन्छ । हेर्दा पनि फरक हुन्छ । नेपाल राष्ट बैंकले नक्कली नोट छुट्याउनका लागि विभिन्न जानकारी प्रकाशित गरेको छ। राष्ट्र बैंकका अनुसार, सय, ५ सय र हजार दरका नोट धेरै मात्रामा नक्कली भेटिएका छन् । नोटमा भएको चिन्ह हेरेर पनि छुट्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस