aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यस पटकको तिहारको मालाको ९० प्रतिशत स्वदेशी उत्पादनले धान्यो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, ०७ कार्तिक २०७९
यस पटकको तिहारको मालाको ९० प्रतिशत स्वदेशी उत्पादनले धान्यो

काठमाडौं । अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ ।

करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए । मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ, तामाङले भने, यो वर्षको तिहारमा बिक्री हुनेमध्ये ९० प्रतिशत स्वदेशी हो । फ्यानका अनुसार घरायसी प्रयोजनका लागि लगाइएको फूल र मालाको विवरण यसमा समावेश गरिएको छैन । तिहारमा मखमली र सयपत्री मालाको माग उच्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस