
वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन् ।
कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी रहेको छ । उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा रहनु भएको छ ।
प्रतिस्पर्धा गर्नुहुनेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिनु भएका डा ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन । भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार वन्नु भएको हो । सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गर्नु भएर एउटा अलग्गै इतिहास रच्न सफल भएका छन ।
सन् २००१ मा अध्ययनको लागि अमेरिका आउनु भएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उहाँले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिनु भएको थियो । सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएका छन ।भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन ।
उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फवाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाउनु भएको हो ।भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफनो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा हुनुहुन्छ । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उहाँको भनाइ छ ।
उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उमेद्वारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् । भण्डारी आफनो निर्वाचन क्षेत्रमा आफनो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन ।
उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफनो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए । यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ । उनको क्षेत्र ३ जनाले प्रतिनिधित्व गर्छन ।भण्डारीले भने, ‘‘मैंले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिवद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु । करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरु मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन् ।
मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटिमा बसेर काम गरेका भण्डारी आफनो चार वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउछन । उनी भन्छन,‘‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम ग¥यौं । यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो । महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम गर्यौं ।’’
उक्त समितिमा वसेर लङ्ग टर्म केयर, जेष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफनो कार्यकाल सफल भएको भण्डारी टिप्पणी गरेका छन ।
नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँं । दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नु भएका भण्डारीले कोरोना महामारीको वीचमा एक हजार पाँच सय नेपालीको वेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए । भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रुपमा नआएको भन्दै राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउछन ।
भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुमहरुको निर्माणको लागि भनेर पाँच लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन । सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उमेदवार वाराक ओवामाको चुनावी अभियानमा स्वयंसेवक बनेका भण्डारीले यो १४ वर्षको बीचमा धेरै कुरामा पहुँच राख्न सक्ने छन ।
मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहनु भएका भण्डारी अपरान्ह ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्दछन । उनी भन्छन, ‘‘मैले आफनो पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टीममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु ।’’ भण्डारी दोस्रो कार्यकालको लागि उमेदवार बने । उले यसपटक जीत हासिल गर्नु भएको खण्डमा दोस्रो कार्यकाल अमेरिकाको मूलधारको राजनीतिमा विजय हुने उनी एक मात्र व्यक्ति हुनेछन ।
उता सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दे आउनु भएका वहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेका हुन । उनको पहिलोपटकको राजनीतिक यात्राले नै नयाँ उचाई हासिल गर्न सकेको छ । पर्यावरणको क्षेत्रमा काम गर्नु हुने श्रेष्ठले आफनो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेका छन ।
उनले ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएका छन । यी नारा तय गर्नुमा आफनो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउछन । उनले भने, ‘‘यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नु परेको छ ।
यसलाई मैले मुख्य मुद्दा बनाएको छु । मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरु निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो । यसको लागि कतिपय विलहरु बनाउनु पर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ ।’’उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश गरिएको छ । उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेका छन । उनीलगायत न्यूयोर्क राज्यका चार एसेम्बली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गर्नुभएकाले उहाँको विजयलाई बल पु¥याएको छ ।
सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आउनु भएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिनुभएको थियो । सहना भन्नुहुन्छ, ‘‘मैले उमेदवार हुने सोच बनाएको एक वर्ष भयो । यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ ।’’ उहाँ आफ्ना पतिसहित न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आउनु भएको छ । उहाँ उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत रहनु भएको छ । श्रेष्ठ भन्नुहुन्छ,‘‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो ।’’
यसपटकको निर्वाचनमा दुई जना मात्र निर्वाचनको मैदानमा भएपनि विगत वर्षहरुमा अनेकन राज्यहरुमा नेपालीहरुले उमेदवारी दिदै आएका छन् । तर अहिलेसम्म सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैंनन् ।यसरी अमेरिकाको राजनीतिमा होमिनेहरु दर्शन रौनियारले सन् २०१२ मा वाशिङ्गटन स्टेटको कंग्रेसनल डिष्ट्रिक १ वाट निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो तर उहाँले प्राईमेरी निर्वाचन मा नै पराजय भोग्नु परेको थियो ।
यसैगरी टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिष्ट्रिक ९२ वाट उमेदवार वन्नु भएका दिनेश शर्माले पनि यस पटकको लागि प्राईमेरी निर्वाचनमा पराजयको सामना गर्नु परयो । नेपाली अमेरिकन मतदाताहरुको राम्रो मत भएको स्थानमा पनि शर्माले जीत हासिल गर्न सक्ने भए । राज्य तहको निर्वाचन वाहेक स्थानीय तहको निर्वाचनमा भने नेपालीले जीत हासिल गरेका छन् । भर्जिनियाको हरडनको काउन्सिल मेनको रुपमा प्रदीप ढकाल कार्यरत छन । यसैगरी मेरिल्याण्ड राज्यको ईण्डियाना हेड सिटीको भाइस मेयरको रुपमा किरण सिटौलाले काम गरिरहेका छन । उता कनेक्टिकट राज्यको वेडफर्डमा काउन्सिल मेनको रुपमा राम श्रेष्ठले काम गरिरहेका छन ।
यसैगरी टेक्सासमा रहेको युलेस सिटीको काउन्सिल सदस्यको रुपमा टीका पौडेलले गत वर्ष भएको निर्वाचनमा विजयी हासिल गरेकी हुन । यस्तै ओहायो राज्यमा रहेको भुवन प्याकुरेल काउन्सिल सदस्यको रुपमा काम गरिन । प्याकुरेल भुटानी अमेरिकन हुन । प्याकुरेल आप्रवासन पुनस्थापना अन्र्तगत अमेरिका पुगकी हुन । उनले ओहायो राज्यमा सिटी काउन्सिलमा विजय हासिल गरेकी छिन । प्याकुरेलले नेपाली भाषीको सेवामा आफूले काम गरेको बताउछिन ।
टेक्सासमा नै मोहन ज्ञवालीले सिटी काउन्सिल सदस्यमा उमेदवारी दिनु भएको थियो तर उहाँले पनि पराजयको सामना गर्नु परयो ।अमेरिकामा रहेका नेपालीहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिमा होमिएका छन् । यसले गर्दा यहाँको मूलधारको राजनीतिमा नेपालीहरुको सहभागिता वृद्धि भएको छ । सन् २०१८ को हयारीको निर्वाचनमा विजयी गराउन नेपालीहरुको फर्सिको मुन्टाको डिप्लोमेशीले काम गरेको थियो । यस अन्र्तगत नेपाली अमेरिकनहरुले आफनो घरको करेसावारीमा फलेको हरियो सागसव्जि आफना छिमेकीहरुलाई दिएर भावनात्मक रुपमा नजिकका साथी वनेका थिए । कतिपय अवस्थामा त्यस्ता छिमेकीहरुले समेत मतदानमा भाग लिएर मत दिएका थिए । यसैले यहाँका स्वतन्त्र अध्येताहरु फर्सिको मुन्टा डिप्लोमेसीको रणनीति चुनावी अभियानमा फलदायी भएको वताउँछन् ।
टेक्सासमा बसेर वित्तीय साक्षरता अभियानमार्फत समुदायलाई सहयोग गर्दे आउनुभएका गगन केसी अमेरिकाको राजनीतिमा बढीभन्दा बढी सहभागिताको खाँचो रहेको बताउनुहुन्छ । कतिपय विषयमा कानून, विधिविधान र अधिकारको बारेमा जानकारी लिन पनि राजनीतिक सहभागिताको खाँचो रहेको उहाँ बताउनुहुन्छ ।
नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका उपाध्यक्ष अर्जुन हमाल अझै नेपाली अमेरिकीले यो मूलधारको राजनीतिमा सक्रिय सहभागिता जनाउन नसकेको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ,‘‘हामीले एक जना डेलिगेट निर्वाचित गर्दा त सरकारी सेवा, सुविधामा यस्तो पहुँच स्थापित गराउन सफल भएका छौंँ भने अझ धेरै निर्वाचित प्रतिनिधि भएको खण्डमा धेरै काम गराउन सकिन्छ ।’’
टेक्सासमा रहनु भएका टीका पौडेलको चुनावी अभियानमा खटनु भएका नेपाल–अमेरिका पत्रका सङ्घ नेजाका अध्यक्ष विकासराज न्यौपाने अमेरिकाको स्थानीय तहको सरकार सञ्चालनको प्रक्रिया सिक्न स्थानीय तह, राज्य स्तरको लागि राज्य तहको र सङ्घीय सरकारको लागि कंग्रेस सिनेटको अभियानमा सहभागी हुनु पर्ने बताउछन । न्यौपाने भन्छन, ‘‘अमेरिकाको राज्य सञ्चालनको बारेमा बुझन निर्वाचनमा होमिनु भएकाहरुलाई हरेक तबरले सहयोग गर्नु पर्ने हामीहरुको दायित्व पनि हो ।’’
अमेरिकामा राजनीति गर्न महत्वपूर्ण पाटो आर्थिक पक्ष हुन्छ । आफना तल्लो एकाईका नागरिकले दिने चन्दा, स्थानीय सङ्घसंस्थाले दिने चन्दा र कर्पोरेट चन्दाका आधारमा उमेदवारको क्षमता मापन गरिन्छ । यसरी उठाइएको चन्दाको महत्वपूर्ण हिस्सा आफनो एजेण्डा समेटेर पठाइने चिठी र पर्चाहरुमा बढी खर्च हुन्छ । यसैगरी डिजिटल विज्ञापन र कार्यालय व्यवस्थापनको लागि समेत सोही चन्दाको आधारमा खर्च गर्नुपर्ने हुन्छ । यसरी सङ्कलन गरिएको रकम, व्यक्तिको विवरण र खर्चसमेत सम्बन्धित राज्यको निर्वाचन कार्यालयमा हरेक तीन÷तीन महिनामा बुझाउनु पर्ने हुन्छ ।
कुन राजनीतिज्ञलाई कसले, के कति सहयोग गरे रु र उनीहरुले केके शीर्षकमा खर्च गरे भन्ने जानकारी मतदाताले पाउँछन् । आर्थिक पक्षको पारदर्शितालाई यहाँ प्रजातन्त्रको महत्वपूर्ण आधारशीलाको रुपमा लिने गरिन्छ । सन् २०२० को राष्ट्रपतिको चुनावलाई आधार मानेर यस चुनावलाई मध्यावधी चुनाव भनिन्छ । अमेरिकाको राजनीतिमा यस्तो चुनाव दुई वर्षअघि राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपतिले गरेका काम कारवाहीलाई नागरिकले कसरी हेरेका छन् भनेर गरिने जनमतसङ्ग्रह पनि हो ।
आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा ३४ सिनेटर, ४३५ कंग्रेस मेन र ३६ वटा राज्यको गभर्नरको लागि निर्वाचन हुने भएको छ । यसैगरी कतिपय राजयका जनरल एसेम्बली, काउन्टी एक्जुकेटिभलगायत स्थानीय निकायमा सरकार सञ्चालन गर्ने पदाधिकारीको निर्वाचन हुनेछ । अमेरिकाको राज्य सञ्चालनमा स्थानीय, राज्य र सङ्घीय गरेर तीन तहको सरकार सञ्चालनमा रहेको छ । यी सबै तहका निर्वाचन नोभेम्बर ८ तारिखको लागि तोकिएको छ । तर चुनाव हुनुभन्दा अगाडि ‘अर्लिभोटिङ्ग’मार्फत नागरिकले मतदान दिन पाउँछन् भने हुलाकी चिठी पत्रमार्फत पनि नागरिकले मतदानमा सहभागिता जनाउन सक्छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव भने आगामी दुई वर्ष पछि अर्थात सन् २०२४ मा हुनेछ ।
सिनेटमा ४८ डेमोक्रयाट, ४८ रिपबिलकन र दुई स्वतन्त्र सिनटेरहरु रहेका छन् । कुनै विधयेकमा बराबर मत परेको खण्डमा उपराष्ट्रपतिले मतदान गरेर बहुमत कायम हुने व्यवस्था छ । यसैले डेमोक्रयाट पार्टी र रिपब्लिकन पार्टी दुवै सिनेटमा वहुमत सदस्यको जीत हासिल गर्न चाहन्छन् । रासस
प्रतिक्रिया दिनुहोस