स्याङ्जा । स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका–१ मा अवस्थित घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन गरिएको छ । कार्यालयको नाम परिवर्तन भएसँगै कार्यालयबाट प्रदान गरिने सेवा, कार्य विवरण पनि थप भएको छ ।
साविकमा ‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा’ रहेकामा कात्तिक १ गतेदेखि यस कार्यालयको नाम परिवर्तन गरी ‘पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा’ राखिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ भदौ २० को बैठकको निर्णयानुसार स्वीकृत यस कार्यालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनबमोजिम २०७९ कात्तिक १ गतेदेखि लागू हुने गरी नाम परिवर्तन र कार्य विवरण थप भएको कार्यालय प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिए ।
साविकको कार्य विवरणमा थप भएको नयाँ कार्य विवरणअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाइड, ¥याफ्टिङलगायत साहसिक पर्यटन आदिको प्रवद्र्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्ने उनले बताए ।
वार्षिक विकास कार्यक्रमअनुसार पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गर्ने कार्य विवरण थपिएर आएकाले सोहीअनुसार कात्तिक १ गतेदेखि सेवा प्रवाह गर्न थालिएको उनले जानकारी दिए ।
“साविकको घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्दै आएका सेवा यथावत रहेका छन्”, उनले भने, “पर्यटनसम्बन्धी सेवा थप भएका हुन् ।” पोखरामा रहेको पर्यटन कार्यालय खारेज भएसँगै उक्त कार्यालयबाट प्रदान गरिँदै आएका सेवा कात्तिक १ गतेदेखि गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित साविकका घरेलु तथा साना उद्योग कार्यालय तथा हालको पर्यटन तथा उद्योग कार्यालयबाट हुने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस