aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

निर्वाचन हुन २३ दिन बाँकी, शेयर खेलाडी पनि सांसद बन्ने दौडमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ कार्तिक २०७९
निर्वाचन हुन २३ दिन बाँकी, शेयर खेलाडी पनि सांसद बन्ने दौडमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन अब २३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।  

नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य सङ्ख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) बाट हुन्छ ।  

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ । यसका साथै आयोगले केहि दिन अघि निर्वाचन कानून तथा आचासंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका १६९ जनासहित ५५० जनाको नाम बन्दसूचीबाट हटाएको छ ।

आगामी मङ्सिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई विसं २०७९ मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् ।

निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । यसमा ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र  ९१ लाख ४० हजार आठ सय छ तथा एक सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदानस्थल तोकिएको छ । 

शेयर खेलाडी पनि सांसद बन्ने दौडमा 
आगामी निर्वाचनका लागि शेयर खेलाडी पनि चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केही शेयरबजारका लगानीकर्ताहरु सांसद बन्ने दौडमा रहेका हुन् । 

शेयर लगानीकर्ता हरि ढकाल चितवनबाट चुनाव लड्दैछन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका विश्व पौडयाल र नेकपा एमालेका सुरेन्द्र पाण्डेसंग हुनेछ । 

चितवनको क्षेत्र नम्बर १ ढकालको पुख्या्रली थलो हो । उनी अहिले चुनावी प्रचारप्रसारमा रहेका छन् । उनी पुँजीबजार सुधारलाई नै प्रमुख एजेण्डा बनाउँदै संसदीय चुनावमा होमिएका छन् ।

त्यस्तै, अर्का शेयर लगानीकर्ता नयन बास्तोलाले पनि प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी दिएका छन् । बास्तोलाले पनि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट लौरो चिन्नबाट उम्मेदवारी दिएका छन् ।  


 

प्रतिक्रिया दिनुहोस