काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा रेबिज लागेर एउटा साँढे मरेको छ। प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिजका कारण बिहीबार साँढे मरेको हो।
मठमन्दिर गाईबाछा बचाउ समाज विकासले पशुपति परिसरमा सञ्चालन गरेको सेल्टरमा राखिएको साँढेले बुधबार अनौठो व्यवहार देखाए पछि रेबिजको शंका गरिएको केन्द्र प्रमुख डा.नारायण श्रेष्ठले जानकारी दिए।
‘म त्यहाँ पुग्दा साँढे पागल झै हान्दै दौडिरहेको थियो’ श्रेष्ठले भने ‘तुरुन्त नियन्त्रणमा लिएर केन्द्रीय पशुपंक्षी रोग प्रयोगशाला त्रिपुरेश्वर पठायौं।’ प्रयोगशालले रेबिजकै कारण साँढे मरेको रिपोर्ट दिएको छ। ‘बाँदरले टोकेर साँढेलाई रेबिज लागेको हुन सक्छ’, उनले भने।
०७५ मा सातदोबाटो, ठेचो र बुढानिलकण्ठमा तीनवटा गाई रेबिज लागेर मरेका थिए। यो वर्ष पनि साउन २१ गते नयाँपाटी काठमाडौं एउटा गाई मरिसकेको र अन्य पाँचको रेबिज परीक्षण गरिएको थियो। यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस