
काठडमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन् । विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ । तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन ।
पराल जलाउने क्रममा दुर्घटनासमेत निम्तिने गरेका छन् । नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउने क्रममा २२२ वटा दुर्घटना भएका थिए । यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन् । त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकहरू समेतको संलग्नतामा भएको अध्ययनबाट हरियाणा र पञ्जाबमा जलाइने परालको असर नेपालसहित अन्य मुलुकमा समेत पर्ने गरेको उल्लेख गरिएको छ । भारतको उत्तरप्रदेशमा कृषि अवशेष जलाउने मौसममा मध्य हिमाली क्षेत्रमा वायु प्रदूषणको असरसम्बन्धी उक्त अध्ययन प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरण गर्न नेपाल र भारतबीच सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस