काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना गाढा बनाउँदै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । छठ पर्वको अवसरमा आइतबार जारी शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गरेकी हुन् ।
छठपर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसंगतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने व्यहोरा राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस