aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भैरहवामा अनिवार्य उडान गर्न पाँच विमान कम्पनीलाई प्राधिकरणको नर्देशन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १३ कार्तिक २०७९
भैरहवामा अनिवार्य उडान गर्न पाँच विमान कम्पनीलाई प्राधिकरणको नर्देशन

काठमाडौं । नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।

यसअघि प्राधिकरणले काठमाडौँमा तीनभन्दा बढी उडान गर्दै आएका सबै अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई कात्तिक १५ गतेदेखि दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । तर चाडपर्व र बिदाका कारण हाललाई स्वदेशी विमान कम्पनी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवामा उडान सुरु गर्न प्राधिकरणले निर्देशनसहितको पत्र पठाएको छ । स्वदेशी विमान कम्पनीले पहिले उडान सुरु गरे बाह्य विमान कम्पनीलाई पनि भैरहवातर्फ मोड्न सहज हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका (विन्टर सेड्युल) अनुसार गौतम बुद्व विमानस्थलमा समेत उडान भर्न निगम र हिमालय एयरलाइन्सलाई पत्राचार गरिएको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न प्राधिकरणले सूचना गरिसकेको छ । उनले भने, “हाल काठमाडौँमा २६ विदेशी विमान कम्पनीले उडान भर्दै आएका छन् । भैरहवा विमास्थलको व्यवसाय बढाउन र विदेशी विमान कम्पनीलाई आकर्षित गर्न प्राधिकरणले यस्तो तयारी गरेको हो । यसले काठमाडौँ विमानस्थलको हवाई चापसमेत सुधार्न मद्दत गर्छ ।” भैरहवामा पनि उडान गर्न प्राधिकरणले गरेको प्रस्तावपछिको छलफलमा विमान कम्पनीहरू सकारात्मक रहेको उनले बताए ।

भैरहवाबाट दैनिक एक उडान गर्न निगम र हिमालयले केही समय मागेर तयारी गरिरहेको उनको भनाइ छ । भैरहवा उडान सङ्ख्या बढाउन हवाई इन्धनको मूल्य घटाउन र भैरहवाबाटै सुरुवाती श्रम अनुमति र स्वास्थ्य परीक्षण व्यवस्था भइसकेकाले हिमालयले भैरहवाबाट साउदीको रियादसम्म र निगमले भैरहवाबाट दुबई–दोहाको उडान गर्ने उनले जानकारी दिए । विमानस्थल सञ्चालनका लागि देखिएका समस्या समाधान गर्न मुख्यसचिव शङ्करदास बैरागीको नेतृत्वमा तिहारअघि नै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत सरकारी निकायबीच छलफल भएको र छलफलपछि विमानस्थलमा यात्रुको सङ्ख्या बढाउन सम्बन्धित मन्त्रालयले गर्नुपर्ने काम समेत छुट्ट्याइएको उनले जानकारी दिए ।

हाल गौतम बुद्ध विमानस्थलबाट जजिरा एयरवेजले साताको तीन उडान गर्दै आएको छ । गत जेठ २ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थमा सुरुमा जजिरा एयरवेजले साताको तीन उडान गरेको थियो । यात्रुको सङ्ख्या थपिएपछि भदौ ३१ देखि नियमित एक उडान गरेको जजिराले असोज २५ गतेबाट पुनः साताको तीन उडान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस