
विराटनगर । प्रदेश १ को प्रमुख औद्योगिक क्षेत्र विराटनगरमा दैनिक १५ पटकसम्म विद्युत् कटौती हुन थालेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । दैनिक हुने औद्योगिक लोडसेडिङ र ट्रिपिङले उद्योगी व्यवसायी मारमा परेका हुन्।
विद्युत् नियमित नहुँदा कच्चा पदार्थ कुहिन र बिग्रन थालेको छ। यसले व्यवसायमा करोडौं घाटा बेहोर्नुपरेको मोरङका उद्योगी व्यवसायीले गुनासो गरेका छन्।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले औद्योगिक लोडसेडिङको समस्या तत्काल समाधान नभए विराटनगर क्षेत्रबाट उत्पादन हुने औद्योगिक वस्तु आधा घट्ने बताए। 'दैनिक १२/१५ पटकसम्म विद्युत्क टौती हुन्छ, मेसिन खोल्दाखोल्दै बन्द हुन्छ, जेनेरेटरले धान्ने अवस्था हुँदैन, उद्योगीले उत्पादनका लागि खरिद गरेको कच्चा पदार्थ बिग्रनु त छदैछ, विद्युत् आउने जाने हुँदा उद्योगका मेसिनसमेत बिग्रने अवस्थामा पुगेका छन्', अध्यक्ष घिमिरेले भने। सुनसरी-मोरङ करिडोरमा जस्तो विद्युत्मा समस्या देशका अन्य स्थानमा नभएको उद्योगीको तर्क छ।
संगठनका उपाध्यक्ष राजकुमार गोल्छाले यस क्षेत्रमा देशका अन्य औद्योगिक क्षेत्रभन्दा धेरै विद्युत् कटौती हुने गरेको दाबी गरे। उनले भने, 'देशका अन्य स्थानमा यस्तो समस्या छैन, सुनसरी-मोरङ करिडोरमा सबैभन्दा धेरै कटौती छ, अहिले बर्खा लागेपछि त झनै कटौती बढेको छ । केही दिन अघि मात्र बाढीले औद्योगिक क्षेत्रमा ठूलो क्षती पुर्याएको छ ।' अहिले लगाचारको विद्युत् कटौतीले उद्योगी तंग्रने अवस्थामानै नपुगेको उद्योगीको गुनासो भएको खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस