लमजुङ । मिदिमखोला मोटरेवल पुल निर्माण सम्पन्नसँगै यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्लाको क्व्होलासोथर गाउँपालिका –८ घाम्राङ र वडा २ मालिङ जोड्ने मिदिमखोला पुल केही दिनअघि निर्माण सम्पन्नसँगै स्थानीयको आवातजावतमा समय छोटिएसँगै यतिबेला दैनिक पनि फेरिएको हो ।
पुल नहुँदा अन्य स्थानबाट घुमेर घण्टौँ समय लाग्ने गरे पनि सो समयभन्दा झन्डै तीन÷चार घण्टा समय छोटिएपछि यहाँका स्थानीयवासीको दैनिकी पनि सहज बन्न पुगेको हो ।खोलाले पालिकालाई दुई भागमा बाँडे पनि मिदिमखोला पुलले जोडेको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।
उनले भने, “विशेष गरी पसगाउँ, सिङ्दीका जनता पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म पुग्नलाई सहज बनाएको छ । सँगसँगै वडा नं २ मालिङ र ४ नम्बरको वडाका जनतालाई पोखरासम्म सिधा बाटो जानसक्ने भएको छ ।”
बेँसीसहरबाट जाँदा उदिपुरको झन्झटिलो बाटो व्योहोर्नु नपर्ने भएको उनको भनाइ थियो । छोटो बाटो टक्सार रामबजार हुँदै पोखरा जानलाई समेत सहज बनाएको उनको भनाइ छ । त्यस्तै, मान्छे बिरामी हुँदा, स्थानीयवासीको उत्पादित वस्तु बजारसम्म पु¥याउन यो पुल मेरुदण्डको रुपमा स्थापित भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
स्थानीयवासी सुलबहादुर विकले पुल निर्माणले आवतजावत सहज भएसँगै यहाँका स्थानीयवासी हर्षित भएको बताए। पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको सात करोड दश लाख बीस हजारमा सो पुल निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । उनका अनुसार ७० मिटर लम्बाइ र ६ मिटर चौडाइको यस पुलको दुवैतर्फको पिलर उठाउने, तारजाली लगाउने, सुपर स्ट्रक्चरको ढलान कार्यलगायत सम्पूर्ण कार्य सम्पन्न भएसँगै केही दिनअघिदेखि सवारीसाधन चल्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस