aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जिल्ला अदालतमा सन्दीपको बयान, किशोरीलाई मेरा विरुद्ध प्रयोग गरियो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, १६ कार्तिक २०७९
जिल्ला अदालतमा सन्दीपको बयान, किशोरीलाई मेरा विरुद्ध प्रयोग गरियो

काठमाडौं । बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि उजुरीकर्ता किशोरीले अरूको उक्साहटमा लागेर अभियोग लगाएको दाबी गरेका छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा बलात्कारको अभियोग दर्ता गरेपछि मंगलबार इजलाससमक्ष उनले आफूमाथि लागेको आरोप झुटो भएको बताए । उनको बयान मंगलबार सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बयानका क्रममा सन्दीपले आफ्नो बचाउ गरेको उनका वकिलले जानकारी दिए । उनले इजलासमा पीडित भनिएकी युवतीको जन्मदर्ताको विषयसमेत उठाएका छन् । जन्मदर्ता कि नागरिकता प्रमाणपत्र केलाई आधार बनाएर मुद्दा दर्ता गरिने हो भन्ने विषयमा सन्दीपले बयानका क्रममा भनेका छन् । अब उनको मुद्दामा थुनछेक बहस बुधबारदेखि सुरु हुनेछ ।

१७ वर्षकी एक किशोरीले सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस