
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्ने चर्चा चलिरहँदा नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्री गृह जिल्ला गुल्मी पुगेकी थिइन् । उनले सुरुमै ‘घिउ जहाँ पोखिए पनि भातमा’ भनेकी थिइन् । उनको यो भनाइ प्रतिस्पर्धीसँग एकखालको सद्भाव थियो । आफूले जिते पनि एमालेका गोकर्णराज विष्टले जिते पनि खासै फरक नहुने झाँक्रीको भनाइको अर्थ थियो ।
तर चुनावी अभियान सुरु भएपछि परिवेश बदलिएको छ पहिले एउटै पार्टीमा हुँदाको सुमधुर सम्बन्ध चुनावले बदलिदिएको छ । यसअघिका निर्वाचनमा विष्टलाई जिताउन लागिपरेकी झाँक्री अहिले प्रतिस्पर्धी छिन् । उनलाई सत्ता गठबन्धन दलको समर्थन छ । पूर्वसहकर्मी विष्टलाई उछिनेर निर्वाचन जित्ने तरखरमा उनी छिन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६, २०७० र २०७४ सालमा चुनाव जितेका विष्ट मन्त्री भइसकेका छन् ।
पहिला एउटै पार्टीमा बसेर काम गरेका उनीहरू अहिले फरकफरक कित्तामा उभिएका छन् । यसअघिका निर्वाचनमा विष्टलाई दिलोज्यानले जिताउन हिँडेकी झाँक्री अहिले आफैं जित्न लागिपरेकी छन् । दलगत रूपमा एमाले र नेकपा एसबीच बोली बाराबारको अवस्था छ । नेकपा एस एमालेबाट विभाजित भएर बनेको हो । वैचारिक रूपमा खासै फरक नभएका तर दलीय रूपमा दुई कित्तामा उभिएका एमाले र नेकपा एस एकअर्काका कट्टर विरोधी देखिएका छन् चुनावी मोर्चामा ।
दलीय रूपमा फरक भएपछि व्यक्तिगत सम्बन्धमा पनि केही असर पर्छ नै । चुनाव राजनीतिक प्रतिस्पर्धा भए पनि झाँक्री र विष्टबीच पहिलेजस्तो सुमधुर सम्बन्ध छैन अहिले । पार्टी फरक हुनुले उद्देश्य, कार्यक्रम, गन्तव्य, प्रवृत्ति सबै फरक परेका छन् । निजी सम्बन्धको कुनै अर्थ नहुने उम्मेदवार स्वयं बताउँछन् । एउटै क्षेत्रबाट उम्मेदवार हुँदा मित्रवत् प्रतिस्पर्धाबाहेक अरू हुन नसक्ने उनीहरू बताउँछन् । ‘मेरो जितलाई पनि उहाँ (विष्ट) ले आफ्नो जित मान्नुहुनेछ’, झाँक्रीले भनि न् ।
निर्वाचनमा हरेक व्यक्तिले उम्मेदवार बन्ने अधिकार राख्छन् । विष्ट आफ्ना प्रतिस्पर्धीका विषयमा कुनै टिप्पणी नभएको बताउँछन् । ‘हरेक उम्मेदवार आफ्नो अधिकार प्रयोग गर्दै उठ्नुभएको छ । म कसैको विषयमा पनि प्रतिक्रिया व्यक्त गर्न चाहन्नँ,’ उनले भने, ‘म जनताको विकासका लागि निरन्तर लागिरहेको छु । यही नै मेरो जित्ने आधार हो ।’
प्रतिनिधिसभा सदस्यका लागि गुल्मी २ बाट एमालेका विष्ट, नेकपा एसका झाँक्रीसहित १३ उम्मेदवार मैदानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४८ वर्षीय युवराज घिमिरे, हाम्रो नेपाली पार्टीका ५० वर्षीय रामलाल पाण्डे, मंगोल नेसनल अर्गनाइजेसनका ४५ वर्षीय पदम थापा मगर, स्वतन्त्रबाट २७ वर्षीय तेजेन्द्रबहादुर महत, २८ वर्षीय नारायण भट्टराई, ३६ वर्षीया कमला पुन, ३० वर्षीय देवराज पाण्डे, २६ वर्षीय अमरबहादुर कार्की, ६२ वर्षीय केशरबहादुर थापालगायत चुनावी मैदानमा छन् ।
स्थानीय तहको चुनावी परिणाम
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेले ३५ हजार ७०१ मत प्राप्त गरेको थियो । त्यसैगरी नेपाली कांग्रेसले ३१ हजार २९४, नेकपा माओवादी केन्द्रले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १ हजार ६००, नेकपा एसले ४९७ मत पाएका थिए । यस आधारमा सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एसको मत जोड्दा ३८ हजार ३६१ हुन्छ भने एमाले एक्लैको मत ३५ हजार ७०१ छ ।
स्थानीय तहमा दलहरूलाई प्राप्त मतका आधारमा हेर्दा गठबन्धन र एमालेबीच निकै प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि चुनावमा हार बेहोर्न नपरेका विष्टलाई यसपटक गठबन्धनका कारण जित निकाल्न त्यति सजिलो देखिँदैन । स्थानीय तहमा सत्ता गठबन्धन दललाई प्राप्त सबै मत पाए झाँक्रीको जित हुन सक्छ । गठबन्धन दलका कार्यकर्ता इमानदार भएर झाँक्रीलाई भोट दिएको खण्डमा र एमालेले आफ्नो मत कायम राखेको अवस्थामा उम्मेदवारको व्यक्तिगत प्रभावका आधारमा पनि जितहार निर्धारण हुने देखिन्छ । झाँक्रीले टिकट पाएपछि कांग्रेसका दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर कांग्रेसले उनको उम्मेदवारी निष्क्रिय बनाइसकेको छ ।
आआफ्नै अजेन्डा
सत्ता गठबन्धन दलकी उम्मेदवार झाँक्रीले संविधान र संसदीय प्रणालीको रक्षा गर्ने, संसदीय प्रणालीलाई परिष्कृत गर्ने र गलत अभ्यास हटाउने बताउँदै आएकी छन् । उनले यसैका लागि एमालेबाट विद्रोह गरी आफूहरूले नेकपा एस बनाएको प्रस्टीकरण दिँदै आएकी छन् ।
शासन प्रणालीमा देखिएका तमाम खराबी सुधार्ने उनी बताउँछिन् । विकास आयोजनाका विषयमा विभिन्न ऐन, विनियम बनाउने उनको योजना छ । उनी राष्ट्रिय अजेन्डाहरूमा नीतिगत सुधार र संविधानले नागरिकका लागि प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गर्ने बताउँछिन् । ‘मौलिक हकसम्बन्धी कतिपय कानुन बनेका छन् । नबनेका कानुन बनाएर काम गर्छौं,’ झाँक्रीले भनिन् ।
गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा वडासम्म पुर्याउने योजना पनि उनको छ । सरकारी अस्पतालको स्तरवृद्धि, गुणस्तरीयता, स्वास्थ्य बिमालगायत कुरा पनि उनले अघि सारेकी छन्। शिक्षकहरूलाई तालिम, उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउने उनले बताइन् । आर्थिक विकासका लागि आन्तारिक आम्दानी, युवालाई उद्यमशील बनाउने, स्थानीय स्रोतको व्यवस्थापन गर्ने अजेन्डा पनि उनले अगाडि सारेकी छन् ।
एमालेका उम्मेदवार विष्ट संविधानको प्रभावकारी कार्यान्वयनमार्फत ‘समृद्ध देश र सुखी नेपाली’ बनाउने अजेन्डाका साथ घरदैलोमा छन्। मुलुकमा भौतिक पूर्वाधारको विकास, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण, गरिबी, अभाव र बेरोजगारी हटाउने योजना पनि विष्टले अघि सारेका छन् । ‘नेपाली युवाको श्रम देशमा प्रयोग गर्नुपर्छ । गाउँमा बाटो, पिउने पानी, शिक्षा, आयआर्जनका विषयमा जनताका आवश्यकतासँग जोडिएर विकास प्रक्रियालाई प्रभावकारी बनाउन चाहन्छौं’, उनले भने ।
प्रतिक्रिया दिनुहोस