aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बढ्यो चुनावी सरगर्मी, निर्वाचन हुन १७ दिन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
बढ्यो चुनावी सरगर्मी, निर्वाचन हुन १७ दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन अब १७ दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् ।     

नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य संख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) बाट हुन्छ ।   

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका  दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् ।      

आगामी मङ्सिर ४ गते हुने मतदानका लागि मतदाता नामावलीमा नाम दर्ता भई विसं २०७९ मङ्सिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने तथा आयोगको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिक मतदान गर्न योग्य हुनेछन् । 

निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका छन् । यसमा ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र  ९१ लाख ४० हजार आठ सय छ तथा एक सय ८५ जना अन्य रहेका छन् । देशभर कूल १० हजार आठ सय ९१ र २२ हजार दुई सय २६ मतदानस्थल तोकिएको छ ।   

निर्वाचन खर्चको अनुगमन शुरु 
निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा आजदेखि गर्न शुरुभएसंगै आयोगले खर्चको अनुगमन प्रारम्भ गरेको हो । 

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् । 

आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता, २०७९ को पालनसहित तोकेको (हद) सीमाभित्र रही खर्च गरे÷नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिएको छ । 

आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी साधनको प्रयोग भए/नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था गरिएको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि २५ लाखदेखि ३३ लाखसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउने गरी हद निर्वाधरण गरेको छ ।

त्यस्तै समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभाका लागि सम्बन्धित दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदारको संख्या अनुसारप्रति उम्मेदवार दुई लाख र प्रदेशसभातर्फ एक लाख पचास हजार निर्धारण गरिएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचन खर्चको हद तोकेको हो ।  

दल र उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम तथा निर्वाचन आचारसंहिता, २०७९ र सम्बन्धित निर्देशिका बमोजिम तोकिएको हदअन्तर्गत मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तक्र्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री  
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा सांकेतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ । आयोगले निर्वाचनका लागि कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ । 

जुम्लामा सेनाको हेलिकोप्टरबाट पुर्याउन थालियो मतपत्र
आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्याइएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्याएको हो । 

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले दुई पटक सेनाको (एनए–०५५ इसियु इक्विेरल) हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिए । उनका अनुसार विपद्का कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकप्टरमार्फत मतपत्र ल्याउनुपरेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला पुर्याइएको हो । 

उनका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र सुरक्षित तवरबाट जुम्ला पुगेको छ । अब समानुपातिकतर्फको चार हजार मत आउन बाँकी रहेको छ । जुम्लामा प्रतिनिधिसभका लागि प्रत्यक्षतर्फ ७६ हजार मतपत्र र  प्रदेशसभा (क) का लागि ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस