काठमाडौं । वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा आउने पक्का भएको छ । सञ्चालनको जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले बुधवारदेखि औजार र केन्द्रको सरसफाइ गरिरहेको छ ।
लामो समयदेखि बन्द रहेको कृषि औजार कारखानाका मेसिनहरू आविष्कार केन्द्रका इन्जिनियरहरूले सफाइ गरी केही मेसिनहरूको परीक्षण सञ्चालन समेत गरेको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिएका छन् ।
करिब तीन दशकदेखि बन्द रहेको सो कारखाना चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएबमोजिम बन्द तथा रुग्ण कारखानालाई पुनः सञ्चालन गर्ने सरकारको योजना अनुसार सञ्चालनको जिम्मा केन्द्रलाई दिइएको थियो ।
सो कारखाना सञ्चालनको प्रारम्भिक खर्च सरकारले बेहोर्नेगरि आविष्कार केन्द्रलाई दश वर्षको लागि सञ्चालन गर्न दिने गत भदौ महिनाको ३१ गते मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको थियो । उक्त कारखाना पुनः सञ्चालनका लागि अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच सम्झौतामा हस्ताक्षर भएको थियो ।
तत्कालीन सोवित सरकारले विं.सं २०२४ सालमा यो कारखाना स्थापना गरेको थियो । यसले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर मार्फत यन्त्रहरू बिक्री गर्दै आएकोमा विगत तीन दशकदेखि भने बन्द रहेको थियो ।
स्मरण रहोस्, त्यस बेला नेपाल सरकारको स्वामित्व रहेका वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, दुग्ध विकास संस्थानले समेत आफूलाई आवश्यक पर्ने सामाग्रीहरुको निर्माण सोही कारखानामा गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस