काठमाडौँ। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) का कोषाध्यक्ष राजेश अग्रवालले चुनावको मुखैमा काठमाडौँको भ्रमण पुरा गरेका छन्। उनी प्रधानमन्त्री लगायत महत्त्वपूर्ण नेताहरूसँग भेटघाट गरेर स्वदेश फर्किएका हुन्।
समाचार स्रोतका अनुसार भिस्तारा एयरको (युके १५६) जहाज चढेर उनी दिल्लीतर्फ लागेका हुन् । पासपोर्ट नम्बर भी ०७५६९०३ बोकेका अग्रवालले ५ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडेका थिए । नेपाल बस्दा उनले प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, काङ्ग्रेस नेता प्रकाश शरण महतसँग भेटघाट गरेका थिए।
नेपालको चुनावलाई दक्षिणी छिमेकी भारतले निकै चासोका साथ हेर्ने गरेको छ। त्यसो त यस पटकको निर्वाचन मार्फत पनि भारतले काम गरिसकेकै व्यक्तिहरू फेरी सरकारको नेतृत्वमा पुग्ने लगभग निश्चित भइसकेको देखिएकोले भारत चिन्तित भने हुनुपर्ने अवस्था नरहेको विश्लेषकहरूले बताउँदै आएका छन्।
तथापि, आफ्नो अनुकूलमा काम गर्ने नेता र दललाई चुनावमा सघाउँदै आएको भारतले यो पटक सत्तारुढ गठबन्धन प्रति सहानुभूति राखेको अनुमान हुँदै आएकोमा अग्रवालको भेटघाटले त्यसलाई पुष्टि गरेको छ। कतै भारतीय सत्तारुढ दलका कोषाध्यक्ष नै आएर आर्थिक सहयोगको समेत प्रतिबद्धता त जनाएनन् भन्ने प्रश्न समेत उब्जिएको छ।
जानकारहरूका अनुसार नेपालका राजनीतिक दलहरूलाई २०४८ कै निर्वाचनदेखि नै विदेशीहरूले प्रत्यक्ष आर्थिक सहयोग गर्दै आएका छन्। त्यो बेला काँग्रेस आइका नेता चन्द्र शेखरले नेपाली काँग्रेसलाई २०० वटा जिप एक महिनाको लागि पठाइदिएका थिए। त्यसै गरी उनले भारतमा रहेको आफ्नै प्रेसमा पोस्टर समेत छपाएर पठाएको चर्चा त्यस बेला नै नेपाली सञ्चार माध्यममा थिए।
त्यसपछिका हरेक चुनावमा कतिपय दलहरूले भारतबाट आर्थिक सहयोग लिएको चर्चा चल्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस