aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

श्री लालीगुराँस सहकारीको समस्या के हो ? बचतकर्तालाई फर्काउँछ रित्तोहात

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १८ कार्तिक २०७९
श्री लालीगुराँस सहकारीको समस्या के हो ? बचतकर्तालाई फर्काउँछ रित्तोहात

काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्तालाई समयमा नै रकम फिर्ता गर्न नसक्दा बचतकर्ता आक्रोशित हुने क्रम बढेको छ । रकम फिर्ता लिन आएका बचतकर्तालाई सो सहकारीले सिस्टम बिग्रिएको छ भन्दै गेटबाटै फर्काउने गरेको पाइएको छ । 

सो सहकारीले दसैंअघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्तालाई छठपछि मात्रै रकम फिर्ता दिने भन्दै आलटाल गरेर फिर्ता पठाएको थियो । छठ सकिएलगत्तै गत सोमबार बचत फिर्ता लिन पुल्चोकस्थित श्री लालीगुराँस सहकारी संस्थाको कार्यालय पुगेका दर्जनौं बचतकर्ताहरू रकम फिर्ता नपाएपछि त्यसै फर्कन विवश भए । जसका कारण सहकारीमा केही समय तनावसमेत भएको बताइएको छ ।

मंगलबार पनि बचत रकम फिर्ता लिन सहकारीको कार्यालय पुगेका बचतकर्तालाई कर्मचारीले फेरि सिस्टमको खराबी देखाउँदै आलटाल गरेका थिए । अहिले पनि कर्मचारीले सिस्टम बन्न केही दिन लाग्ने भन्दै बचतकर्तालाई फर्काउने गरेका छन् ।

‘चार÷पाँच दिन कसैलाई पनि कार्यालयमा नआउनू भनिएको छ । यसरी सिस्टम बिग्रिएका घटना अहिलेसम्म थाहा थिएन । यो नै पहिलो हो’, एक बचतकर्ताले भने ।

सोमबार सहकारी रहेको वडाकै अध्यक्ष गोपाल महर्जनले एक व्यक्तिलाई चेक दिएका थिए । ती व्यक्तिलाई पारिवारिक शोकमा परेको र उक्त शोकमा हुने खर्चका लागि भन्दै १ लाख रुपैयाँको सहकारीको चेक दिएका थिए । 

सो चेकसमेत नसाटिएपछि ती पीडितले वडाध्यक्ष महर्जनलाई नै फोन गरेका थिए । त्यसपछि महर्जनले यस्तो अवस्थामा पनि पीडितको पैसा नदिने भन्दै पीडितको पक्षमा सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई फोन गरेर समस्या समाधान गर्न आग्रह गरेपछि मात्रै चेक साटिएको थियो ।

प्रतिक्रिया दिनुहोस