aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नक्सा फेरियो तर फेरिएन दुःख

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १८ कार्तिक २०७९
नक्सा फेरियो तर फेरिएन दुःख

बैतडी । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन । 
 
२०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा मत माग्न आउने नेताले मालपोत कर तिर्न बैतडीमै व्यवस्था मिलाइदिने प्रतिबद्धता गरे पनि चुनाव सकिएपछि नेताले वाचा बिर्सने गरेका छन् । 

बैतडीको तल्लोस्वराड क्षेत्रको हालको मेलौली नगरपालिका–८, (साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडा)का पाँच सयभन्दा बढी घरपरिवारले जग्गाको मालपोत डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको स्थानीय मौरे विष्टले बताए ।

“भूगोलको नक्सा बैतडीकै भए पनि जग्गाको कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा बुझाउँदै आइरहेका छौँ,” स्थानीय बासिन्दा पदमसिंह ठगुन्नाले भन्नुभयो, “जग्गाको अंशबन्डा गर्न बैतडीको मेलौली नगरपालिका–८ को सिफारिस चल्दैन । अंशबन्डा गर्न भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा मालपोत कार्यालय जानुपर्छ ।” 

२०३२ सालमा  डडेल्धुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिँदा विशालपुर गाविसका चारवटा वडाको मालपोतको स्रेस्ता डडेल्धुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेल्धुरा गएर मालपोत कर बुझाउनु परेको ठगुन्नाले बताए । 

स्थानीय तहको पुनर्संरचनापछि पनि जग्गाको मालपोत र घर कर तिर्न डडेल्धुरा जानुपर्ने समस्या समाधान नभएको स्थानीय बासिन्दा मोतीसिंह ठगुन्नाले बताए । बैतडीकै भूगोलमा बसेर पनि जग्गाधनीको लालपुर्जा डडेल्धुराको भएका कारण अधिकांश किसानले कृषि फर्म दर्ता गर्न, चार किल्ला प्रमाणित गर्न र कृषि कर्जा लिन पनि झन्झट बेहोर्नु परेको स्थानीयवासीले गुनासो गरेका छन् । 

हरेक निर्वाचनका बेला वडामा मत माग्न आउने नेताले बैतडीमै मालपोत बुझाउने गरी समस्याको समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म माग पूरा नभएको डम्बरदत्त जोशीले बताए । उनले भने, “गाउँमा बिजुली बत्ती छैन । खेतमा सिँचाइ कुलो छैन। खानेपानीको चर्को समस्या छ । हाम्रो पीडा बुझिदिने नेता कोही भएनन् ।” 

मालपोतको स्रेस्ता बैतडीमै कायम गर्न पहल गरिए पनि डडेल्धुरा मालपोत कार्यालयले मन्त्रिपरिषद्को निर्णयले मात्रै बैतडीमा स्रेस्ता कायम हुने जानकारी दिएको बैतडीको मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र विष्टले बताए । उनले भने, “राजनीतिक दलका उम्मेदवारले यो विषयमा चासो दिनुपर्छ । मतदाता नामावली बैतडीमै भए पनि मालपोत कर डडेल्धुरामा बुझाउनुपर्ने समस्याका बारेमा अधिकांश उम्मेदवारलाई त यो विषयमा जानकारी पनि छैन ।” 

प्रतिक्रिया दिनुहोस