
काठमाडौं । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ला भन्ने जोडघटाउ सुरु भइरहेका बेला काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा भने युवा उम्मेदवार चुनावी परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका छन् । पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषी माओवादी केन्द्रबाट सत्ता गठबन्धनको उम्मेदवार बनेकी हुन् । ३८ वर्षीया मानुषी आफ्नै परिचयबाट चिनिन र काठमाडौं ७ लाई पनि चिनाउन चाहेको भन्दै मत माग्न घरघरमा पुगिरहेकी छन् । काठमाडौं ७ बाट प्रदेशसभा सदस्यमा पनि सत्ता गठबन्धनले युवालाई नै उम्मेदवार बनाएको छ ।
प्रदेशसभातर्फका दुई सिटमध्ये एउटामा कांग्रेस र अर्कोमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उम्मेदवार छन् । कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका ४२ वर्षका सविन तामाङलाई काठमाडौं (ख) बाट उम्मेदवार बनाएको छ । नेकपा एसको भागमा परेको काठमाडौं (क) मा ५० वर्षीय वसन्तप्रसाद मानन्धर उम्मेदवार छन् । प्रदेशसभा र प्रतिनिधिसभामा गएर केही गरौं भन्ने हुटहुटी भएका युवालाई सत्ता गठबन्धनले काठमाडौं ७ बाट उम्मेदवार बनाएको बताउँदै तामाङले भने, ‘पाका र परिपक्व नेताहरूलाई हामी सम्मान गर्छौं तर एकपटक हामीलाई मौका दिन मतदातालाई आग्रह गर्छौं।’ काठमाडौं ७ का मतदाताले गठबन्धनले अघि सारेका युवा उम्मेदवारलाई विश्वास र भरोसा गरेको तामाङको दाबी छ ।
प्रतिक्रिया दिनुहोस