एजेन्सी । भारतको पटना उच्च अदालतले बिहारको मदिरा निषेधाज्ञा कानूनमा कडा टिप्पणी गरेको छ। उच्च अदालतले बिहार सरकारले निषेधाज्ञा कानूनलाई प्रभावकारी रूपमा लागू गर्न असफल भएको भन्दै बिहारका जनताको जीवन खतरामा परेको बताएको छ।
यो टिप्पणी न्यायाधीश पूर्णेन्दु सिंहले गरेका हुन् । उनले नक्कली मदिरा, लागुऔषध दुव्र्यसनबाट हुने मृत्यु र जफत गरिएका मदिराका बोतलको अनुचित विसर्जनले वातावरणमा हुने खतरा बढेको उल्लेख गरे ।
सन् २०१६ मा नितिश कुमारले राज्यमा मदिरा बिक्री र पिउनेमाथि पूर्ण प्रतिबन्ध लगाएका थिए । अदालतले मुजफ्फरपुर जिल्लाका नीरज सिंहको जमानत याचिकामा सुनुवाई गरिरहेको थियो। उनी निषेधाज्ञाको मुद्दामा गत नोभेम्बरदेखि जेलमा छन् ।
अदालतले निषेधाज्ञा लगाएपछि बढ्दै गएको नक्कली मदिराका घटना चिन्ताजनक रहेको भन्दै नक्कली मदिरा सेवनबाट बिरामी भएकालाई प्रदेश सरकारले उचित उपचार गर्न नसकेको बताएको छ ।
अदालतले अवैध रक्सीमा मिथाइल मिसाइएको पत्ता लगाएको थियो । त्यसको पाँच मिलिलिटर पनि कसैलाई अन्धो बनाउन पर्याप्त हुन्छ। अदालतले यस्ता बिरामीको उपचारका लागि छुट्टै स्वास्थ्य केन्द्र बनाउनुपर्ने भनेको छ, जहाँ विशेष तालिमप्राप्त व्यक्तिले काम गर्छ । यसबाहेक अवैध लागुऔषधको मामिलामा अदालतले बिहार सरकारलाई पनि गाली गर्दै सरकार यसलाई रोक्न पनि असफल भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस