aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सम्पत्ति चाहिएन डिभोर्स देऊ, भन्दै अर्कोसँग हिँडेपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ भदौ २०७६
सम्पत्ति चाहिएन डिभोर्स देऊ, भन्दै अर्कोसँग हिँडेपछि

ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतमा ०७६ वैशाख अन्तिम साता सम्बन्धविच्छेद गर्न आएका जोडीसँग अर्का एक पुरुष पनि हाजिर भए ।

उनी मुद्दाका साक्षी वा पक्षका आफन्त थिएनन्। पत्नीले सम्बन्धविच्छेदको मुद्दा हालेपछि सुनुवाइ क्रममा आएका भारतीय सुरक्षा फौजमा कार्यरत महिलाका पतिसँगै अर्का पुरुष पनि देखेपछि अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले उनलाई मुद्दाका पक्षसँग आउनुको कारण सोधे। ती पुरुषले सहज रूपमा जवाफ फर्काए, 'म बिहे गर्न आएको।' जवाफ सुनेपछि अदालतका कर्मचारी छक्क परे। 

सम्बन्धविच्छेद गर्ने महिलासँग आफूले बिहे गर्न आएको बताएपछि ती पुरुष अदालत आउनुको रहस्य खुल्यो। जारी तिरेर अर्काकी पत्नी लैजान पाउने चलन गाउँघरमा अझै जीवित छ। 'भागेर जाने र ल्याउने त धेरै छन् । छाड्ने र लाने एकैसाथ अदालतमा हाजिर भएर त्यहाँबाट अकोसँग बिहे गरेर हिँडेको चाहिँ पहिलो पटक देखियो' अधिवक्ता गुरुबहादुर बस्नेतले भने, 'एकातिर तोड्ने र अर्कातिर सहज रूपमा सम्बन्ध जोड्ने अनौठो घटना देखियो।'

जागिरे पतिसँग सम्बन्ध विच्छेदको प्रक्रिया पुरा हुनासाथ एक बच्चाकी आमा ती महिला खोटाङका सडक मजदुरसँग हिँडिन् । उनले पूर्वपतिसँग कुनै सम्पत्ति वा अंश दाबी गरिनन् । मुद्दाका पक्ष कसैको पनि पहिचान नखुलाउन आग्रह गर्दै उनले भनिन् 'सम्बन्ध नै नरहेपछि अर्काको सम्पत्तिमा के आँखा लाउनु ? जे पर्छ त्यही ब्यहोरौंला नि ।' यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस