काठमाडौँ ।नेपाल बाल संगठन (बालमन्दिर) काठमाडौंको स्वामित्वमा रहेको टेकुस्थित जग्गा भाडामा लिने/दिने विषयमा बालमन्दिरका केन्द्रीय महासचिव गणेशभक्त श्रेष्ठ संलग्न रहेको पाइएको छ।
मूलसडक त्रिपुरेश्वर र कालिमाटीसँग जोडिएको हयुमत टोल जाने सहायक मार्गको पूर्वतर्फको कित्ता नं. ७,१८ को १ रोपनी ११ आना जग्गा ज्यादै कम दरमा भाडा लगाउने निर्णय गराई उनले आफन्तलाई दिएका छन्। सम्झौताअनुसार भाडादर प्रतिवर्ष ११ लाख २२ हजार रुपैयाँ तोकिएको छ । अर्थात् प्रतिसटर मासिक ४ हजार ६ सय ७५ पर्न जान्छ । जुन व्यापारिक प्रयोजनमा दिइने चल्तीको भाडादरभन्दा एकदमै कम हो।
जग्गा सुरुमा श्रेष्ठले ससुरा पर्ने नरेन्द्रलाल प्रधानलाई सम्झौता गरेर दिएका थिए। पछि फेयर इन्टरनेसनल प्रालि कम्पनी
दर्ता गरेर भोगाधिकार हस्तान्तरण गरिएको छ। महासचिव श्रेष्ठ कम्पनीका संस्थापक सेयरधनी छन् । जुन बालमन्दिरको विधान २०४९ को धारा १६(२)ङ को विपरीत छ।
विधानमा बालमन्दिरबाट सञ्चालित ठेक्काट्टा वा व्यवहारमा हिस्सा लिएमा केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्यहरूको कार्यकाल समाप्त हुने स्पष्ट व्यवस्था छ। महासचिव श्रेष्ठले 'कम्पनीमा आफू पहिले संलग्न रहे पनि अहिले नरहेको' प्रतिक्रिया दिएका छन् । तर बालमन्दिर स्रोत अनुसार उनी कम्पनीमा रही जग्गाको व्यापारिक प्रयोजनबाट अप्रत्यक्ष आर्थिक फाइदा लिरहेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस