काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि गम्भीर टिप्पणी गरेपछि नेता भीम रावलले पाँचवटा प्रश्न गरेका छन् । शुक्रबार सुदुरपश्चिमको दार्चुलामा आयोजित चुनावीसभामा रावलको बारेमा टिप्पणी गरेपछि रावलले पनि सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका हुन् ।
रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन् ।
१. मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ । तर सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ । कहिल्यै मुख खाली छैन र फेरि पनि “खानूको लागि मुख किन बाउनुभएको त ?
२. म ६७ वर्ष लागेकालाई “बुढोू भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरूलाई उमेदवारका लागि किन सहमति दिनुभयो ?
३. हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?
४. ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुनेगरी बोल्नुभएको रहेछ । स्मरण होस् अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राह्यमण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नबनाउने त ?
५. पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ ।
प्रतिक्रिया दिनुहोस