काठमाडौं । नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुंडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् 'बडी मास इन्डेक्स' अनिवार्य हुने भनिएको छ।
बीएमआई 'फिट' नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वस्थ हुन बीएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ । जसको उचाइअनुसार तौल हुन्छ, त्यो व्यक्ति स्वस्थ र निरोगी मात्र नभई फूर्तिलो र मानसिक रूपमा परिपक्व हुने गरेको जानकारी डब्लूएचओले दिएको छ ।
प्रतिक्रिया दिनुहोस