aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

गण्डकी प्रदेशमा उम्मेदवारको ध्यान मुख्यमन्त्रीतर्फ

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २० कार्तिक २०७९
गण्डकी प्रदेशमा उम्मेदवारको ध्यान मुख्यमन्त्रीतर्फ

काठमाडौं । मुलुकका अधिकांश जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कसले बाजी मार्लान् भन्ने विषयमा कार्यकर्ताबीच जोड–घटाउ चलिरहेका बेला गण्डकी प्रदेशमा भने प्रदेश सभातर्फ धेरैको चासो रहेको पाइएको छ ।

पार्टीले नै कनिष्ठ नेतालाई प्रनिनिधि सभामा र केन्द्रीय स्तरका नेतालाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएर पठाउनु र उम्मेदवार स्वयं पनि यसैतर्फ आकर्षित हुनुले यो वास्तकितालाई थप पुष्टि गरेको हो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशको नेतृत्व गर्ने उद्देश्यले प्रभावशाली नेताहरूलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि पार्टीबाट सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई सोही क्षेत्रको प्रदेश (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । 

वाम तथा लोकतान्त्रिक गठबन्धन गर्नेक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार बन्ने इच्छा राखेपछि पाण्डेलाई प्रदेशमा झारिएको हो । उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा लगिएको स्वयं प्रचण्डले नै स्वीकोका छन् । गत साता गोरखामा आयोजित चुनावी कार्यक्रममा उनले पाण्डेलाई मुख्यमन्त्री बनाउने विषयमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भइसकेकोसमेत बताएका थिए। 

दुई दशकसम्म कांग्रेसको कास्की जिल्ला सभापति भइसकेका शुक्रराज शर्मालाई कांग्रेसले नै समानुपातिकतर्फ प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । उनी राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन्। उनी अहिले पार्टीको गण्डकी प्रदेश सभापति छन्। राजनीतिक हिसाबले शर्माभन्दा कनिष्ठ कास्कीका वर्तमान सभापति किशोरदत्त बराल कास्की क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । 

प्रतिक्रिया दिनुहोस