
काठमाडौं । राजधानी काठमाडौंसँगै जोडिएको धादिङ १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै चार दशकसम्म एउटै पार्टी र चिह्नमा सहकार्य गरेका दुई नेतासहित एउटै गाउँका तीन नेता चुनावी प्रतिस्पर्धामा छन् ।
२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात जोड्दै एकअर्कालाई भोट माग्दै हिँडेका राजेन्द्रप्रसाद पाण्डे र भूमि त्रिपाठी पाँच वर्षपछि अलगअलग दलसहित एकअर्काविरुद्ध आमनेसामने भएका हुन्।
२०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुँदै मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन्। पाण्डे एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष छन्। त्रिपाठी एमालेबाट विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका छन्।
कम्युनिस्ट राजनीतिक पृष्ठभूमिबाट अघि बढेका पाण्डे र त्रिपाठी मात्र होइन, चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेल पनि प्रतिस्पर्धामा थपिएका छन्। एकै गाउँठाउँका उनीहरूले लामो समय एउटै पार्टीमा रहेर काम मात्र गरेनन्, विभिन्न जिम्मेवारी पनि निर्वाह गरे। तर अहिले उनीहरूबीचको सहकार्य टुटेको मात्र छैन, तीनैजना एकअर्काविरुद्ध खडा भएका छन्।
२०५४ सालको स्थानीय निकाय निर्वाचनपछि एमालेबाट जिल्ला विकास समितिको उपसभापति भएका कँडेल २०५७ सालमा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए। केही समय भूमिगत बसेका कँडेल माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्ष भएका थिए।
प्रतिक्रिया दिनुहोस