aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आजदेखि इजिप्टमा जलवायु सम्मेलन हुँदै, यस्ता छन् एजेण्डा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • आइतबार, २० कार्तिक २०७९
आजदेखि इजिप्टमा जलवायु सम्मेलन हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । इजिप्टमा आजदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप) सुरु हुँदैछ । नेपाल पनि सम्मेलनको सहभागी राष्ट्र हुनेछ । तर सम्मेलनमा नेपाल सहभागीमात्रै भएर पुग्दैछ, हाम्रो मुलुकसँग थुप्रै दायित्व छन् । ती आफ्नै लागि हुन् । 

नेपाल जलवायु परिवर्तनको जोखिमको सूचीमा अग्रस्थानमा भएको मुलुक हो । परिवर्तनका लागि नगण्य योगदान गरिरहेको छ, तर असर सबैभन्दा धेरै पर्नेमा छ हाम्रो देश । विश्वका धनी मुलुकहरू अमेरिका, चीन, भारतलगायत देशका उद्योगधन्दा र मोटरगाडीले कार्बन उत्सर्जन अत्यधिक गरिरहेका छन् । पृथ्वी तातिँदै गएको छ । मौसमी चक्र खल्बलिएको छ । 

बेमौसममा पानी पर्ने र बाढीपहिरो जाने भइरहेको  छ। हाम्रा हिमालहरू पग्लिँदै छन् । पृथ्वी औसतमा १.१ डिग्रीले बढी तातो हुँदै गइरहेकाले नेपालको तापक्रम १.३–१.८२ डिग्री सेल्सियसले बढ्ने निश्चित भइसकेको छ ।

पानीका मुहानहरू सुकेका छन् । बस्तीहरू विस्थापित भइरहेका छन् । कृषि उत्पादनमा ह्रास देखिन थालिसकेको छ । विश्व मानव जातिकै अस्तित्वलाई खतरामा पारेको जलवायु परिवर्तनको मुद्दामा सम्मेलन केन्द्रित हुनेछ । ठूला राष्ट्रहरूले एउटा लक्ष्य नै बनाएर तापक्रम वृद्धि रोक्ने उपाय खोजिरहेका छन् । तर नेपालका लागि भने जलवायुबाट परेको असरको भुक्तानी ती राष्ट्रहरूबाट लिन पनि मुस्किल छ । यसपालिको सम्मेलनमा नेपालले उठाउन लागेको प्रमुख मुद्दा पर्वतीय हो । 

नेपाल पर्वतीय मुलुकको नाता र पर्वतहरूमा जलवायु परिवर्तनको ज्यादा असर परिरहेको हुँदा यो मुद्दालाई प्राथमिकता दिनु उचित छ । कृषि तथा खाद्य, जलवायु वित्त, लैंगिक र स्थानीय समुदायसहित वातावरणमा पारेको असरलगायत समेटेर तयार पारिएको पर्वतीय मुद्दा नेपालको मुद्दा हो । 

प्रतिक्रिया दिनुहोस