aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेपालीले तास किनेर सके ३ करोड ५९ लाख

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, २१ कार्तिक २०७९
नेपालीले तास किनेर सके ३ करोड ५९ लाख

काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलासिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि अझै तासलगायतका विलासिताका वस्तुको आयात रोकिएको छैन ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गरी निर्यात बढाउने लक्ष्य लिएको सरकारले विलासिताका वस्तुको आयात नियन्त्रणका लागि प्रतिबन्धलगायत अनेकौं प्रयास गरे पनि प्रभावहीन देखिएको छ । विलासिताका वस्तुहरूको आयात घट्नुको साटो थप बढेको भन्सार विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को गत तीन महिनाको अवधि गत असोज मसान्तसम्ममा ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।

यस्तो, आयातको उकालो ग्राफले मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अत्यावश्यक वस्तुबाहेकको आयातमा कडाइकासाथ अंकुश लगाएर धेरै प्रयास गरे पनि तास लगायत विभिन्न विलासिताका वस्तुहरूको आयात नरोकिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार विभागले मात्र नभएर हाल निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ । मुलुकभित्रै उत्पादन गर्न सकिने कृषिउपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र विदेशबाट आयात गर्नु नै नपर्ने यस्ता मनोरञ्जनको साधन तासजस्ता खेल मनोरन्जनको वस्तु पनि निर्वाध रूपमा देशभित्र भित्रिइरहेका छन् ।

सरकारले तास जुवा खेल्ने र खेलाउने कार्यलाई कानुनविपरीतको दण्डनीय कार्य भनेको छ । यस्तो अवैध कार्यमा संलग्नलाई जुवातास खेल नियन्त्रण ऐनअनुसार कडा कारबाहीसमेत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस