aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

प्रधानमन्त्री देउवाले बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, २१ कार्तिक २०७९
प्रधानमन्त्री देउवाले बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोतबारे प्रश्न उठेको छ ।

प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए रु भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख बढी रकम राज्यका विभिन्न उच्च पदस्थबाट संकलन गरेको हुन सक्ने भन्दै त्यो अपारदर्शी रकमको खोजबिन हुनुपर्ने माग सुशासन क्षेत्रका विज्ञले गरेका छन् । यद्यपि, अन्य दलहरूले पनि भित्री रूपमा आफ्ना उम्मेदवारलाई पैसा वितरण गरेको हुन सक्ने भन्दै त्यस्तो रकमको स्रोत सबैले सार्वजनिक गर्नुपर्ने माग विज्ञहरूको छ ।

करोडौं पैसाको स्रोत सार्वजनिक गर्नुपर्दैन ?

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट उम्मेदवार बनेका ९१ जना र प्रदेशसभाबाट उम्मेदवार बनेका १ सय ७९ गरी २ सय ७० जनालाई ७ करोड २२ लाख रुपैयाँ वितरण गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकालाई ४ लाख र प्रदेशसभातर्फ उम्मेदवारी दिएकालाई २ लाखका दरले वितरण गरिएको हो ।

प्रशासनविद् तथा सुशासन विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख रकमको स्रोतबारे प्रश्न उठाएका छन् । उनले सो रकम कहाँकहाँबाट कसरी संकलन गरिएको हो त्यसको फेहरिस्त विवरण जनतासमक्ष ल्याउनुपर्ने माग गरे । ‘प्रधानमन्त्री र उहाँका निकटले राज्यशक्तिको दुरुपयोग गरेर पैसा उठाएको हुन सक्छ, यदि त्यसो होइन भने त्यो ७ करोड २२ लाख कसरी संकलन भयो ? त्यसको विवरण सार्वजनिक गर्नुपर्छ,’ त्रितालले राजधानीसँग भने । उनले शुभेच्छुकबाट संकलन भएको हो भने पनि कुनकुन शुभेच्छुकले कति कति दिए, एक÷एक सार्वजनिक हुनुपर्ने बताए ।

‘संकलन गरिएको रकमबारे सार्वजनिक गर्न नसक्ने हो भने प्रधानमन्त्रीले सरकारका विभिन्न ओहोदामा बसेका व्यक्तिबाटै रकम उठाएको सहजै अनुमान गर्न सकिन्छ जुन अख्तियारको ठाडो दुरुपयोग हो,’ सुशासनविद् त्रितालले राजधानीसँग भने । सुशासनविद्का अनुसार विशेषगरी हरेक जसो निर्वाचनमा सत्तामा बसेकाले निर्वाचनलाई आफू अनुकूल बनाउन सामदाम दण्ड भेदको नीति प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस