
काठमाडौं । निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ ।
सर्वोच्चले मात्रै होइन, निर्वाचन आयोगले पनि यसअघिका आफ्नै निर्णय उल्टाउन थालेको छ। निर्णय मनपरी ढङ्गले गरेको भन्दै सर्वत्र आलोचना र विवाद हुँदा आयोगपछि हट्न थालेको हो । सञ्चारमाध्यममा लेखिएका समाचारका विषयलाई लिएर सेतोपाटी अनलाइनलाई पत्र पठाएपछि आयोगको चौतर्फी आलोचना भएको थियो ।
समाचारको विषयलाई लिएर स्पष्टीकरण सोधिए पनि आयोग अहिले पछाडि हटेको हो । मिडिया नियन्त्रण गर्ने कुनै नीति नभएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार आयोजित एक कार्यक्रममा स्पष्ट पारे । निर्वाचन आयोगको अभिभारा विषयक कार्यक्रममा थपलियाले भने, हाम्रा साथीहरू बढी जान्ने भएर पत्र पठाएछन् । हामीले निर्णय फिर्ता लिइसक्यौँ ।
प्रतिक्रिया दिनुहोस