
काठमाडौं । आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ ।
स्कटल्यान्डको बारा विमानस्थल पहिलो स्थानमा छ भने ग्रिसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रो स्थानमा छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्कोपोला र आयरल्यान्डको डोनेगल विमानस्थल क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।
उड्डयनसम्बन्धी काम गर्न बेलायती संस्था आर्टेमिस एयरस्पेसले विमानस्थलको अवस्थिति र प्राकृतिक सुन्दरताका आधारमा उक्त छवटा विमानस्थललाई ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा समावेश गरेको हो ।
‘सगरमाथाको प्रवेशद्वार यो ९तेन्जिङ–हिलारी० विमानस्थल सुन्दर हिमालको बीचमा छ । यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्,” आर्टेमिस एयरस्पेसले उल्लेख गरेको छ ।
वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावन मार्ग ९एक हजार ७२९ फिट०, छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थललाई विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पनि राखिने गरेको छ ।
सगरमाथाको प्रवेशद्वार
सगरमाथा आरोहण तथा खुम्बुक्षेत्रको भ्रमणको सपना देख्ने व्यक्तिको मानसपटलमा आउने पहिलो ठाउँको नाम हो लुक्ला । नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्ये पर्छ । सन् १९७१ देखि सञ्चालनमा आएको यो विमानस्थल समुद्री सतहभन्दा दुई हजार आठ सय मिटरको उचाइमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस