aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

एक नदिका दुई किनारा सिटौला र लिङ्देनको रोचक भिडन्त

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, २२ कार्तिक २०७९
एक नदिका दुई किनारा सिटौला र लिङ्देनको रोचक भिडन्त

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ । त्यहाँ माओवादीलाई शान्तिप्रक्रियामा ल्याउँदै कांग्रेसलाई गणतन्त्रमा जान भूमिका खेलेका नेता कृष्णप्रसाद सिटौला र अहिले पनि राजतन्त्रको पक्षमा प्रतिबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आमनेसामने छन् । तीन दशकभन्दा पहिलेदेखि नै एकअर्काविरुद्ध खडा झापाका यी दुई नेता एक नदीका दुई किनाराजस्ता छन् ।  

यसअघि तीनपटक आमनेसामने भइसकेका यी दुई नेता चौथोपटक निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् । २०५६ र २०७० मा दुईपटक सिटौलाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दा लिङ्देनले २०७४ मा वाम गठबन्धनको बलमा एकपटक जित निकालेका छन् । त्यतिबेला लिङ्देनले कांग्रेसका प्रभावशाली नेता सिटौलालाई १३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेको समर्थनमा अघिल्लो निर्वाचनको परिणामलाई निरन्तरता दिने पक्षमा लिङ्देन छन् । तर सिटौला पार्टी संगठनका साथै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित सत्ता गठबन्धनको बलमा परिणाम उल्ट्याउन लागिपरेका छन् ।

लिङ्देन पार्टीभित्र बढ्दै गएको प्रभाव र एमालेसँग चुनावी तालमेलका आडमा झापा ३ को परिणामलाई आफ्नो पक्षमा पार्ने दाउमा छन् । राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने मुख्य आँट र भरोसा एमाले बनेको छ । उनका मुख्य प्रतिस्पर्धी सिटौला पनि माओवादीसहितको गठबन्धनका बलमा एमालेभित्रको असन्तुष्ट पक्षको मतकै भरोसामा परिणाम बदल्ने रणनीतिमा छन् । 

एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईंसहित त्यस क्षेत्रमा केही नेता तथा कार्यकर्ता राप्रपासँगको चुनावी तालमेलसँग असन्तुष्ट छन् । पार्टीको निर्णयविरुद्ध यही क्षेत्रमा पर्ने हल्दीबारी गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान उपाध्यक्ष डम्बरबहादुर गिरीले बागी उम्मेदवारी दिएका छन् । लामो समय एमालेमा रहेर राजनीति गरेका गिरी झापा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनलाई एमालेले कारबाही गरेको छ । अघिल्लो निर्वाचनमा लिङ्देनलाई चुनाव जिताएर पठाए पनि पाँच वर्षे कार्यकालमा आफूहरूसँग सहकार्य नगरेको भन्दै एमालेका स्थानीय नेताहरू उनीसँग असन्तुष्ट छन् ।  

लिङ्देनसँग असन्तुष्ट समूहले विद्रोही उम्मेदवार गिरी वा कांग्रेस नेता सिटौलालाई मतदान गर्ने विश्लेषण गरिएको छ । त्यसले सिटौलालाई केही राहत पुग्ने आकलन छ ।  

प्रतिक्रिया दिनुहोस