aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

रामचन्द्र पौडेलले यसपालीको निर्वाचन नजिते के हुन्छ ? यस्तो छ त्यहाँको चुनावी अवस्था

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २२ कार्तिक २०७९
रामचन्द्र पौडेलले यसपालीको निर्वाचन नजिते के हुन्छ ? यस्तो छ त्यहाँको चुनावी अवस्था

काठमाडौं । “देशले मलाई प्रधानमन्त्रीका रूपमा खोजेको छ । एक पटक मुलुकमा सुशासनको जग मात्रै बसाल्न भए पनि कार्यकारी अधिकार मेरो हातमा आउनुपर्छ,” निर्वाचनको मौसम सुरु भएदेखि नैै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको यो भनाइ चर्चामा आइरहेको छ । २०४८ सालदेखि निरन्तर निर्वाचनमा होमिएर पाँच पटक जिते पनि पौडेलले मुलुकको कार्यकारी अधिकारको बागडोर सम्हाल्न गरेको प्रयास भने सफल भएको छैन । 

पौडेल यस पटक पनि तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका छन् । पछिल्लो पटक उनले २०७४ सालको प्रतिनिधि सभा सदस्यमा पनि यही क्षेत्रबाटै प्रतिस्पर्धा गरेका थिए । त्यतिखेर नेकपा (एमाले) र नेकपा (माओवादी)बीच गठबन्धन भएका कारण उनले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले हार बेहोर्नुपर्‍यो । 

तर अहिलेको अवस्था २०७४ सालको निर्वाचनभन्दा ठीकविपरीत छ, अर्थात् त्यतिखेर एमालेसँग गठबन्धन गरेको माओवादी, एमालेबाट फुटेर नयाँ गठन भएको नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टीसँग कांग्रेसले गठबन्धन गरेको छ । अहिले परिस्थिति पनि बदलिएको र अन्य पार्टीको पनि साथ रहेको हुनाले यस पटकको निर्वाचन जित्न आफूलाई सहज भएको पौडेलको दाबी छ । 

निर्वाचन कार्यालयको विवरणअनुसार पौडेल ७८ वर्षमा दौडिरहनुभएको छ । राजनीतिक जीवनमा आफ्नो यो नै अन्तिम निर्वाचन प्रतिस्पर्धा भएको र एक पटक मुलुकको कार्यकारी नेतृत्वमा पुग्ने इच्छा रहेको भन्दै उनी मतदातालाई आफ्नो पक्षमा तान्न गाउँगाउँमा चुनावी प्रचारप्रसारमा खटिरहेका छन् । स्वतन्त्रबाट कैँची चिह्न लिएर उम्मेदवार बनेका गोविन्दराज जोशी र नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एकबहादुर रानासहित अन्य १२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारले राजनीतिक जीवनकै उत्तराद्र्धमा रहेका पौडेललाई मुख्य चुनौती दिइरहेका छन् । 

आफ्नै पूर्वसहकर्मी र विपक्षी दललाई समेत सहजै उछिनेर यस पटक आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने पौडेलले दाबी गरे । नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सूर्यचन्द्र हड्खलेले यस पटक पौडेलको जित सुनिश्चित रहेको बताए। उनले भने, “राम्रो मतान्तरले जित हासिल गर्छौं ।”

प्रतिक्रिया दिनुहोस