
काठमाडौं । प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ । नेपालमा लगानी गर्छ भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको हो ।
विभागका विदेशी लगानी शाखाका निर्देशक शङ्करसिंह धामीले प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरिएको जानकारी दिए । पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको उनले जानकारी दिए । ‘प्रतिबद्धता जनाएअनुसार काम नभएकाले विभागले व्यावसायिक भिसामा सर्तसहित कडाइ गरेको हो । इमानदार लगानीकर्तालाई भिसा दिन कहिले पनि समस्या हुँदैन । जसले काम नगर्ने भिसा मात्रै थप्ने कार्य गरिरहेका छन् ती विदेशी नागरिकको व्यावसायिक भिसामा कडाइ गरिएको हो,” निर्देशक धामीले भने ।
प्रतिक्रिया दिनुहोस