काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।
महानगरीय प्रहरी परिसरको टोलीले पडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं। ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए।
'प्रहरीले खबर गरेपछि गएका हौं,' अधिकारीले भने, 'कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।'
प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन । महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए। 'अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,' सुवेदीले भने, 'अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो ।'
पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो । पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन् । पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए। शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,' न्यौपानेले भनिन्, केटी को हो भन्ने थाहा भएन ।' पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्।
पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए । पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए। कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन् । 'कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,' न्यौपानेले भनिन्, 'को हो, सोधिएन ।' कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन् । पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रूपैयाँ तिर्दै आएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस