aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एक घण्टा २३ मिनेटसम्म लाग्ने चन्द्रग्रहण कुन राशि भएकाले हेर्न हुँदैन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
एक घण्टा २३ मिनेटसम्म लाग्ने चन्द्रग्रहण कुन राशि भएकाले हेर्न हुँदैन ?

काठमाडौं । अहिले ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेको छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागिरहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको सुरु हुने जनाएको छ । यस्तै, बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने भएको छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार, मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक हुने देखिएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । जसअनुसार मंगलबार बिहान ८ बजेर ११ देखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।   

प्रतिक्रिया दिनुहोस