
काठमाडौं । यसअघिका अधिकांश निर्वाचन आफ्नो पक्षमा पार्दै आएको एमालेका लागि काठमाडौ क्षेत्र ७ मा यसपटक जित निकाल्न सो पार्टी र त्यसका उम्मेदवारले कडा मिहिनेत गर्नुपर्ने देखिएको छ । यो क्षेत्र गठबन्धनको भागबन्डामा कांग्रेसको भागमा नपरेको र कांग्रेसबाहेक गठबन्धनका अन्य दलको उपस्थिति निकै कमजोर रहेकाले एमाले उम्मेदवारलाई ‘केही सहज’ भए पनि जित निकाल्न भने निकै चुनौतीपूर्ण छ ।
एमालेबाट पुराना र त्यागी कम्युनिस्टका रूपमा चिनिएका श्यामकुमार घिमिरे घरदैलोमा व्यस्त छन् । उनलाई सत्ता गठबन्धनकी मानुषी यमी (भट्टराई० तथा हाम्रो नेपाली पार्टीका आकर्षण पोखरेल, स्वतन्त्रका किरण केसी, जनता समाजावादीका राजेन्द्र श्रेष्ठलगायतले घरदैलोमार्फत टक्कर दिने प्रयास गरिरहेका छन् । यद्यपि, मानुषीलाई कांग्रेसबाट भोट जाने सम्भावना न्यून रहेकाले उनलाई पनि निकै कठिन छ ।
माओवादीको भागमा परेको यो क्षेत्रमा उसले डा। बाबुराम भट्टराईको दललाई छोडिदिएपछि भट्टराईले आफ्नै छोरीलाई उम्मेदवार बनाएका हुन् । जसका कारण यस क्षेत्रमा रहेका पुराना माओवादी नेता– कार्यकर्ता असन्तुष्ट छन् । २०७४ को निर्वाचनमा एमालेबाट विजयी रामवीर मानन्धरले योपटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनको उम्मेदवारीले एमालेलाई केही घाटा पुग्नसक्ने विश्लेषण गरिएको छ । यद्यपि, यसअघि रामवीरलाई भोट हालेका अधिकांश स्थानीय उनीसँग असन्तुष्ट देखिएका छन् ।
रामवीरसँग असन्तुष्ट हुनुको मुख्य कारण कुनै बेला उनले ‘बामदेव गौतमका लागि ठाउँ खाली गर्न’ भन्दै आफ्नो सांसद पदबाटै राजीनामा समेत दिएका थिए । तर, सो राजीनामा कार्यान्वनयनमा भने आएन । त्यतिबेलादेखि रामवीरसँग एमाले कार्यकर्ता तथा स्थानीय रुष्ट छन् । आफूहरूले भोट हालेर जिताएको तर सो ‘सिट अर्कैका लागि सौदाबाजी गर्न खोजेको’ भन्दै स्थानीयले आफ्नो भोट अवमूल्यन गर्न खोजेको आरोप रामवीरमाथि लगाउँदै आएका छन् । त्यसैले यस क्षेत्रमा उनको प्रभाव पहिलेजस्तो शसक्त देखिँदैन ।
प्रतिक्रिया दिनुहोस