
काठमाडौं । लुम्बिनी प्रदेशमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले प्रतिनिधि सभामा उम्मेदवारी दिएसँगै अब प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । करिब साढे तीन वर्ष नेकपा (एमाले)का महासचिव तथा नेता शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा काम गरे ।
पोखरेल कार्यकालको सबैभन्दा ठूलो उपलब्धि प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने र प्रदेशको नामकरण गर्ने रह्यो । पाँच वर्ष मुख्यमन्त्री रहिरहने पोखरेलको सपना पार्टी विभाजनसँगै सकियो । पार्टी फुटेसँगै पाँचदलीय गठबन्धनको सहयोगमा २०७८ को साउन २८ मा नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसी मुख्यमन्त्री भए । त्यसयता केसी लुम्बिनी सरकारको नेतृत्वमा छन् ।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले केसीलाई मुख्यमन्त्री बन्दा साथ दिएको थियो । तर, मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केसीलाई पार्टीले टिकट दिएको छैन ।
लुम्बिनी सरकारको पहिलो मुख्यमन्त्री पोखरेलले समेत दाङ २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएपछि मुख्यमन्त्री बन्ने ढोका बन्द भएको छ । पोखरेल र केसी मैदानबाट बाहिरिएका कारण अब लुम्बिनी प्रदेशले मुख्यमन्त्रीमा नयाँ पाउने निश्चित छ । लुम्बिनीमा कुनै पनि दलले मुख्यमन्त्रीका रूपमा तोकेर उम्मेदवार भने उठाएका छैनन् । तर, सम्भावित मुख्यमन्त्रीका दाबेदार नेताहरूले घरदैलो कार्यक्रममा आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् ।
लुम्बिनीका १२ जिल्लाबाट प्रदेश सभामा ५२ जना निर्वाचित हुनेछन् । यी निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ३३ सिटमा उम्मेदवारी दिएको छ । बाँकी सिट सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा परेको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) यहाँको प्रदेश सभामा कुनै सिट पाएको छैन । तर, पनि उसले केही प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
लुम्बिनी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा र लोसपाले एक÷एक सिटमा मात्र उम्मेदवारी दिएका छन् । लुम्बिनीमा सत्ता गठबन्धनबाट अहिले मुख्यमन्त्रीको चुनावी मैदानमा एक दर्जन उम्मेदवार छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दौडमा रुपन्देहीका कांग्रेस नेता अब्दुल रज्जाक गद्दी देखिएका छन् । उनी रुपन्देही क्षेत्र नम्बर १ ९ख०बाट प्रदेश सभामा उम्मेदवार छन् । रज्जाकलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको रुपन्देही कांग्रेस पार्टीका पाका कार्यकर्ता गोपालप्रसाद न्यौपाने बताउछन् । “सङ्घीय सांसद भइसकेका र पूर्वराज्यमन्त्री पनि रहिसकेका रज्जाकलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित उम्मेदवार बनाइएको हो,” न्यौपानेले भने । रज्जाक भने पार्टी र गठबन्धनले जितेपछि मात्र मुख्यमन्त्रीको बन्ने भन्ने टुङ्गो लाग्ने बताउछन् । रज्जाकलाई प्रदेश सभामा उठाएर सत्ता गठबन्धनले क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गरेको छ ।
प्रतिक्रिया दिनुहोस